सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले आज आफ्नो १६औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाले कम्पनीको आर्थिक अवस्था, पूँजी संरचना तथा भावी विकास योजनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदनमाथि विस्तृत छलफल भई शेयरधनीहरूबाट अनुमोदन गरिएको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ। कम्पनीको समग्र सञ्चालन र वित्तीय अवस्था सन्तोषजनक रहेको सभामा जानकारी गराइएको थियो।
साधारणसभाले जलविद्युत तथा ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रस्ताव स्वीकृत गर्दै कम्पनीले भविष्यमा आफ्नो गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। यसका साथै नियामक निकायको स्वीकृतिका अधीनमा रही बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।

कम्पनीको पूँजी आधार मजबुत बनाउने उद्देश्यले अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने निर्णय सभाबाट गरिएको छ। साथै हालका शेयरधनीहरूलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ, जसअनुसार शेयरधनीहरूले आफ्नो स्वामित्वको अनुपातमा नयाँ सेयर खरिद गर्न सक्नेछन्।
त्यसैगरी कम्पनीको बदलिँदो सञ्चालन तथा वित्तीय संरचनाअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीले १६औँ वार्षिक साधारणसभाबाट भएका निर्णयहरूले दीर्घकालीन विकास रणनीतिलाई थप बलियो बनाउने, शेयरधनीको मूल्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जा विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend