काठमाडौं ३ माघ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने बारेमा अध्यक्ष ओली आफैंले निर्णय लिनेछन् ।
एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो ।
पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्रीको चर्चामा छन् । तर, उनको नाम पछिल्लो समय फौजदारी घटनामा जोडिएकाले यसैपटक मन्त्री हुने सम्भावना कम भएको एमाले स्रोतको दाबी छ ।
मन्त्री हुन लागेका गिरी पर्वत, चौधरी सुनसरी, उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह रौतहटबाट स्वतन्त्रबाट जितेर एमाले प्रवेश गरेका थिए ।
एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ ।
शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend