काठमाडौं । नेपालीहरूको महान् चाड तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल टन्डुकारको आयोजनामा मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समाजसेवीसमेत रहेका वडा अध्यक्ष टन्डुकारले हरेक वर्ष चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन्। नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कलाकारहरूले परम्परागत देउसी–भैलो प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। वडा अध्यक्ष टन्डुकारले देउसी–भैलो टोलीलाई आर्थिक सहयोग तथा दानसमेत गरेका थिए। कार्यक्रममा नेवारी समुदायका परम्परागत परिकारसहितको खानपानको व्यवस्था गरिएको थियो। सहभागीहरूले सांस्कृतिक प्रस्तुति, आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्दै उत्साहपूर्वक पर्व मनाएका थिए।
दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ र छठ पर्वले नेपाली समाजमा आपसी एकता, सद्भाव, भाइचारा र सांस्कृतिक सहिष्णुता थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend