काठमाडौं । नेपाल र भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित भारतको झारखण्डमा अन्तर्राष्ट्रिय सरोद वादन तथा अखिल भारतीय कवि सम्मेलन आयोजना हुने भएको छ ।
झारखण्ड साहित्य सभाले आगामी नोभेम्बर २१, २०२६ मा झारखण्डको चतरामा उक्त साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । सभाले विज्ञप्ति जारी गर्दै कार्यक्रमको तयारी र सहभागी हुने विशिष्ट व्यक्तित्वबारे जानकारी गराएको छ ।
कार्यक्रममा नेपालका प्रख्यात सरोद वादक पण्डित सुदर्शन राजोपाध्याय विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन् । उनको उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय महत्त्व प्रदान गर्नुका साथै नेपाली शास्त्रीय संगीतको पहिचान भारतीय साहित्यिक तथा सांस्कृतिक वृत्तमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
झारखण्ड साहित्य सभाका अध्यक्ष डा. लता मंकर प्रियदर्शिनी र सचिव डा. रविकान्त शुभमको संयुक्त पहलमा कार्यक्रम आयोजना हुन लागेको हो । साहित्य, संगीत र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखिएको यस कार्यक्रममा भारतका विभिन्न क्षेत्रका कवि तथा साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ ।
नेपालका सांगीतिक प्रतिभा र भारतको साहित्यिक सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गरिने भएकाले यस कार्यक्रमलाई दुई देशबीचको सांस्कृतिक आदानप्रदानको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । कार्यक्रमले भाषा, साहित्य, संगीत र कलामार्फत नेपाल–भारतबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
कार्यक्रमलाई लिएर चतराका स्थानीय बासिन्दामा समेत उत्साह देखिएको छ । अन्तर्राष्ट्रिय स्तरको साहित्यिक तथा सांगीतिक जमघट आफ्नै क्षेत्रमा हुन लागेकाले स्थानीयवासीले यसलाई गौरव र अवसरका रूपमा लिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend