काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदैछ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा गाईको विशेष महत्व रहेको छ ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत अपनाउँदै आएका छन् । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताएका छन् । गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend