सोमबार, असोज १२ २०८३

सोमबार, असोज १२ २०८३

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही ६ असोजमा संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत थिए ।

यसैबीच, प्रधानमन्त्री शाहभन्दाअघि नै न्युयोर्क प्रस्तान गरेका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसंघीय महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सरिक भइरहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए । सो अवसरमा प्रधानमन्त्री शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुननहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड दिएका थिए ।

उनले गत १० भदौमा भोटेकोशी नदीमा गएको बाढीबाट भएको जनधनको क्षति बारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गरेका थिए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend