काठमाडौं । गीताञ्जली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको धुम्बाराहीस्थित पिपलबोटको धुम्बाराही भेन्यूमा शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा अनुमानित बजेटसहित प्रस्तुत सबै प्रस्ताव र छलफलका विषयहरू पारित गरेको छ।
साधारणसभाले संस्थाको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ। नयाँ सञ्चालक समितिको अध्यक्षमा शशी चालिसे चयन भएकी छन्। समितिको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा मीरा अधिकारी र कोषाध्यक्षमा राममाया घिमिरे चयन भएका छन्। त्यसैगरी सञ्चालक समितिका सदस्यहरूमा प्रमिला दाहाल, राशनी भट्टराई, सीता अधिकारी, संगीता सुवेदी नेपाल र शारदा थापा चयन भएका छन्।
साधारणसभाले लेखा सुपरिवेक्षण समितिको लेखा संयोजकमा चन्द्रकला पोखरेललाई चयन गरेको छ। समितिका सदस्यहरूमा आसना बोगटी र चन्दुका उप्रेती चयन भएका छन्।

सभामा अध्यक्ष सीमा अधिकारीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्। त्यसैगरी लेखा समितिका संयोजकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।
साधारणसभाले संस्थाको नीति तथा कार्यविधि स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। ज्येष्ठ शेयर सदस्य आमाहरूलाई औषधोपचार भत्ता उपलब्ध गराउने तथा २०८३ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गर्ने प्रस्तावसमेत पारित भएको छ।
सभाले वार्षिक प्रतिवेदन र प्रस्तुत सम्पूर्ण प्रस्तावहरू पारित गर्नुका साथै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न १० जना प्रतिनिधि चयन गरेको थियो। पुरानो कार्यसमिति र लेखा समितिको विघटनपछि नयाँ समिति चयन गरिएको हो।
सहकारीको वार्षिक साधारणसभामा संस्थाको अघिल्लो वर्षको समीक्षा, आर्थिक गतिविधि, आगामी योजना तथा सदस्यहरूको हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend