काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ।
यसअघि एशोसिएशनका अध्यक्ष रमेशकुमार बरालको सभापतित्व तथा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव राजु घिमिरेले गरेका थिए।
उद्घाटन कार्यक्रममा होटेल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी, होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, काठमाडौं होटेल व्यवसायी संघका अध्यक्ष ध्रुवबहादुर कार्की, जिल्ला होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह, काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष रामबाबु कोइरालालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा एशोसिएशनमा योगदान पुर्याउने व्यवसायी तथा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि सचिव सुवेदीले पर्यटन क्षेत्रको विकासमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रदेश सरकार व्यवसायीका समस्याप्रति संवेदनशील रहेको बताए। उनले सेवा गुणस्तर, प्रविधिमैत्री प्रचारप्रसार र पर्यटकमैत्री वातावरण निर्माणमा जोड दिए।
निर्वाचन समितिका प्रमुख अधिवक्ता कुलबहादुर बोगटीका अनुसार मनोनयन दर्ता भएका सबै उम्मेदवारविरुद्ध कुनै दाबी–विरोध नपरेकाले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।
निर्विरोध निर्वाचित नयाँ कार्यसमिति
अध्यक्ष: कुमार श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: श्याम चौलागाईं
उपाध्यक्ष: राजु घिमिरे
महासचिव: अप्सरा थापा
सचिव: रेशम पुलामी
कोषाध्यक्ष: माधवप्रसाद गौतम
सह–कोषाध्यक्ष: नहकुल भट्टराई
महिला सदस्य: तारा पराजुली
महिला सदस्य: रोजिना खत्री
सदस्य: राजु चौरेल
सदस्य: रविन राई
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend