सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपाको महाधिवेशन प्यानलरहित र योजनामुखी बन्नुपर्छ : टेकबहादुर पुन (मगर)

रास्वपाको महाधिवेशन प्यानलरहित र योजनामुखी बन्नुपर्छ : टेकबहादुर पुन (मगर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यका आकाङ्क्षी टेकबहादुर पुन (मगर)ले पार्टीको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन प्यानलरहित, पूर्ण समावेशी, सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्री कबिन्द्र बुर्लाकोटी, महामन्त्री भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्यलगायत सम्पूर्ण केन्द्रीय सचिवालय, नेता तथा शुभेच्छुकलाई शुभकामना व्यक्त गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम केन्द्रीय महाधिवेशन देश परिवर्तन र समृद्ध नेपालको सपना बोकेका सम्पूर्ण कार्यकर्ताका लागि ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन्। वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि असार ७, ८ र ९ गते चितवनमा हुने केन्द्रीय महाधिवेशनले लोकतान्त्रिक मूल्य–मान्यता र पार्टीको विधानअनुसार सही नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।

पुनले महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नहुनुपर्ने धारणा राख्दै आगामी यात्राका लागि स्पष्ट मास्टर प्लान तयार गर्नुपर्नेमा जोड दिएका छन्। स्पष्ट योजना, लक्ष्य र कार्यदिशाविना कुनै पनि संगठनले अपेक्षित सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले स्थानीय निर्वाचन नजिकिँदै गइरहेको सन्दर्भमा जनतासँग अझ नजिकिने रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले पार्टीले जनताको विश्वास जित्ने, आफ्ना विचार र एजेन्डा घर–घरमा पुर्‍याउने तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतारेर आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा थप मजबुत बनाउनुपर्ने बताएका छन्। जनताको आशा, भरोसा र अपेक्षालाई केन्द्रमा राखेर पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ।

फेसबुक सन्देशको अन्त्यमा पुनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन पूर्ण रूपमा सफल, सभ्य, भव्य, मर्यादित, समावेशी तथा प्यानलरहित बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

पुन हाल राष्ट्रिय स्वतन्त्र पार्टी बाग्लुङ जिल्ला कार्यसमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्य पदका आकाङ्क्षी हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend