काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २०८३ जेठ २४ गते हुने निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समूहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा महासचिव पदका उम्मेदवार अमर प्रकाश तिवारीले व्यवसायीहरूको हक, हित, सम्मान र पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
कास्की ओभरसिज प्रा.लि.का सञ्चालकसमेत रहेका तिवारी लोकतान्त्रिक एसोसिएशनको आधिकारिक उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। उनले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन संघको नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
तिवारीले वैदेशिक रोजगार व्यवसायीहरूले लामो समयदेखि विभिन्न नीतिगत जटिलता, प्रशासनिक चुनौती तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्याको समाधानका लागि आफूले सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीहरूको पेशागत मर्यादा र सम्मान अभिवृद्धि गर्दै वैदेशिक रोजगार क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रसँग थप मजबुत रूपमा जोड्न आवश्यक पहल गरिने बताए।
लोकतान्त्रिक समूहले यस निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेलको नेतृत्वमा अनुभवी तथा व्यवसायीहरूको विश्वास जितेका उम्मेदवारहरूलाई अघि सारेको जनाएको छ। समूहले व्यवसायीहरूको अधिकार संरक्षण, श्रमिक र व्यवसायीबीचको विश्वास अभिवृद्धि तथा वैदेशिक रोजगार क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।
महासचिव पदका उम्मेदवार तिवारीले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई लोकतान्त्रिक एसोसिएशनको आधिकारिक उम्मेदवार मेघनाथ भुर्तेल नेतृत्वको सम्पूर्ण प्यानललाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन्। उनले संघलाई थप सशक्त, जिम्मेवार र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्न लोकतान्त्रिक समूहको विजय आवश्यक रहेको बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरूबीच चुनावी गतिविधि तीव्र बनेको छ भने व्यवसायीहरूबीच आगामी नेतृत्वले संघलाई कुन दिशामा लैजान्छ भन्ने विषयमा व्यापक चासो देखिएको छ। लोकतान्त्रिक समूहले भने व्यवसायीको हक, हित र सम्मानको निरन्तर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित आफ्नो चुनावी अभियान अघि बढाइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend