काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व चयनका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै जाँदा संघभित्र राजनीतिक तथा व्यावसायिक ध्रुवीकरण स्पष्ट देखिएको छ। यसपटकको निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई वैदेशिक रोजगार क्षेत्रको भावी दिशा निर्धारण गर्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र व्यवसायी समूहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।
चुनावी मैदानमा सबैभन्दा पहिले स्वतन्त्र व्यवसायी समूहले आफ्नो प्यानल सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको छ। शुक्रबार आयोजित घोषणासभामार्फत नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्षको उम्मेदवार घोषणा गरिएको थियो। समूहले प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाललाई अघि सारेको छ।
घोषणासभामा अध्यक्षका उम्मेदवार पाण्डेले व्यवसायीहरूको अधिकार, सम्मान र व्यवसायको दिगोपनलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। उनले वर्षौंदेखि विवादमा रहेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति र १० हजार रुपैयाँ सेवाशुल्कको व्यवस्थालाई अव्यावहारिक भन्दै त्यसको पुनरावलोकन आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे।
“दस हजार रुपैयाँमा सात समुद्रपारि कामदार पठाउने व्यवस्था व्यवहारिक हुन सक्दैन,” उनले भने, “हामी छिमेकी मुलुकहरूको अभ्यास अध्ययन गरी व्यवसायी र श्रमिक दुवैको हित हुने नयाँ मोडेल स्थापित गर्न चाहन्छौं।”
उता एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पनि अनुभवी व्यवसायी डिकबहादुर खत्री ‘कुमार’लाई अध्यक्षको उम्मेदवार बनाउँदै चुनावी मैदानमा होमिएको छ। खत्रीले वैदेशिक रोजगार क्षेत्रलाई दशकौंदेखि प्रभावित पारिरहेका कानुनी र नीतिगत जटिलता समाधानलाई आफ्नो मुख्य अभियान बनाएका छन्।

उनले २०७२ सालको फ्रि भिसा–फ्रि टिकट निर्णयदेखि धरौटी र बैंक ग्यारेन्टी वृद्धिसम्बन्धी व्यवस्थासम्म पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन्। वैदेशिक रोजगार ऐनका व्यवसायीमाथि अनावश्यक भार पार्ने प्रावधान संशोधनका लागि आफू नेतृत्वदायी भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
यता कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसनमा भने उम्मेदवार टुंगो लगाउनै सकस परेको छ। अध्यक्ष पदमा निवर्तमान द्वितीय उपाध्यक्ष देव खोखाली, पूर्वमहासचिव मेघनाथ भुर्तेल र पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेबीच आकांक्षा बलियो देखिएकाले सहमति जुट्न सकेको छैन। दिनभर र रातिसम्म चलेको छलफलबाट समेत निष्कर्ष ननिस्किएपछि अन्तिम समयसम्म सहमतिको प्रयास जारी राखिएको छ।
संघको निर्वाचनमा अध्यक्षसहित सात पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि मतदान हुनेछ। यसपटकको निर्वाचनमा ८ सयभन्दा बढी व्यवसायीले सदस्यता नवीकरण गरी मतदान अधिकार सुरक्षित गरेका छन्। यसले चुनावलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।
चुनावी बहसको केन्द्रमा सेवाशुल्क, फ्रि भिसा–फ्रि टिकट नीति, कानुनी सुधार, नयाँ श्रम गन्तव्यको खोजी, व्यवसायीमाथिको नियामकीय दबाब र संस्थागत सुदृढीकरणका विषय रहेका छन्। उम्मेदवारहरूले आफ्ना-आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका बेला व्यवसायीहरू भने नाराभन्दा बढी व्यवहारिक समाधान खोजिरहेका छन्।
संघको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नको उत्तर मतदानपछि मात्र प्राप्त हुनेछ। तर अहिले नै स्पष्ट भइसकेको छ—यो निर्वाचन केवल पदको प्रतिस्पर्धा होइन, वैदेशिक रोजगार व्यवसायको भविष्यको मार्गचित्र कोर्ने संघर्ष पनि हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend