काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सर्वसाधारण उपभोक्तालाई आह्वान गरेको छ। विभागले शनिबार सूचना जारी गर्दै साउन १ गतेदेखि नगदमा वस्तु तथा सेवा खरिद गरी सक्कल प्यान वा भ्याट बिल लिएका योग्य उपभोक्तालाई आफ्नो बिल अनलाइन दर्ता गर्न आग्रह गरेको हो।
विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माका अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एकपटकमा रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल बिल लिएका उपभोक्ताले नयाँ वेबसाइट prize.ird.gov.np मार्फत आफ्नो बिल अपलोड गरी उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। विभागले यो वेबसाइट शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार बैंक वा डिजिटल वालेटमार्फत क्यूआर कोड प्रयोग गरेर गरिएको रु. १०० भन्दा बढीको भुक्तानी भने छुट्टै बिल दर्ता गर्न आवश्यक छैन। क्यूआर प्रणालीबाट भएका कारोबारको विवरण विभागको प्रणालीमा स्वतः समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले केवल आफ्नो कारोबारको प्रमाण सुरक्षित राखे पुग्नेछ। तर, उपहार प्राप्त गर्ने अवस्थामा सक्कल भ्याट वा प्यान बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने भएकाले बिल सुरक्षित राख्न विभागले सबैलाई आग्रह गरेको छ।
विभागले खरिद गर्दा अनिवार्य रूपमा सक्कल भ्याट वा प्यान बिल माग्न तथा बिल दिन अस्वीकार गर्ने व्यवसायीबारे विभागलाई जानकारी गराउन पनि उपभोक्तासँग अपिल गरेको छ। विभागको भनाइमा यस कार्यक्रमले कर प्रणालीलाई थप पारदर्शी बनाउनुका साथै बिल लिने संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साउन १ गतेदेखि लागू भएको कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। प्राविधिक तयारी पूरा भइसकेको र कुनै ठूलो समस्या नआए पहिलो चरणको ड्र सार्वजनिक गरिने विभागको भनाइ छ।
कार्यविधिअनुसार प्रत्येक दिन एक जना भाग्यशाली उपभोक्ताले कर कट्टीपछि रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी हरेक १५ दिनमा एक जना विजेतालाई बम्पर उपहारस्वरूप रु. १० लाख नगद प्रदान गरिने व्यवस्था गरिएको छ। पहिलो १५ दिनको अवधिमा दैनिक रु. १ लाखका १५ जना विजेता र एक जना रु. १० लाखका बम्पर विजेता घोषणा गरिनेछ।
उल्लेखनीय छ, आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई औपचारिक कर प्रणालीमा आकर्षित गर्ने, उपभोक्तामा बिल लिने बानीको विकास गर्ने तथा कर छली नियन्त्रण गर्ने उद्देश्यसहित करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार अर्थ मन्त्रालयले असार अन्तिम साता कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend