काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधार र चिकित्सकहरूको पेशागत सम्मानको मुद्दालाई केन्द्रमा राख्दै ‘टिम बद्री’ नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा सक्रिय रूपमा चुनावी अभियानमा जुटेको छ। डा. बद्रि रिजाल नेतृत्वको उक्त समूहले संघलाई अझ सबल, एकीकृत र प्रभावकारी बनाउने लक्ष्यसहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको चुनावी अपिलमा ‘टिम बद्री’ले स्वास्थ्य क्षेत्रमा अब परिवर्तनको समय आएको उल्लेख गर्दै चिकित्सकहरूको हकहित, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। उनीहरूले ४० घण्टे कार्यसप्ताह कार्यान्वयन, सेवा–सुविधामा सुधार, चिकित्सकहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान तथा व्यवहारिक र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याएका छन्।
संघीय संरचना लागू भइसकेपछि स्वास्थ्य प्रणालीमा देखिएका चुनौती, बढ्दो कार्यदबाब र पेशागत असुरक्षाबीच चिकित्सकहरूको आवाजलाई सशक्त रूपमा उठाउने नेतृत्व आवश्यक रहेको ‘टिम बद्री’को भनाइ छ। नयाँ पुस्ताका चिकित्सकहरूको अपेक्षा र भावनालाई सम्बोधन गर्दै संघलाई आधुनिक, पारदर्शी र परिणाममुखी बनाउने योजना समेत टोलीले अघि सारेको छ।
निर्वाचन नजिकिँदै जाँदा ‘टिम बद्री’ले सम्पूर्ण चिकित्सकहरूलाई सचेत र जिम्मेवार भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। “अब सही नेतृत्व छान्ने समय हो,” भन्ने नारासहित उनीहरूले आफ्नो समूहलाई मतदान गर्न अपिल गरेका छन्।
नेपाल चिकित्सक संघको निर्वाचन २०८३ साल वैशाख १८ र १९ गते हुने तय भएको छ। उक्त निर्वाचनलाई चिकित्सक समुदायले पेशागत भविष्य र संगठनको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend