काठमाडौं । भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेज (केएमसी) को दोस्रो युनिट औपचारिक रूपमा सञ्चालनमा आएको छ। नोबेल मेडिकल कलेज शिक्षण अस्पताल को अनुभव र प्राविधिक सहयोगमा स्थापना गरिएको उक्त अस्पताल ३०० शय्याको क्षमतासहित सेवा विस्तार गरिएको हो।
आइतबार केएमसीका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको जन्मोत्सवको अवसरमा नयाँ युनिटको उद्घाटन गरिएको हो। कार्यक्रममा चाँगुनारायण नगरपालिका सँग अस्पतालले सेवा सुविधासम्बन्धी सम्झौता समेत गरेको छ।
सम्झौताअनुसार चाँगुनारायण नगरपालिकाका स्थानीय बासिन्दाले अस्पतालमा उपचार गराउँदा २५ प्रतिशत छुट पाउनेछन् भने १०० जना विपन्न बिरामीलाई शतप्रतिशत निःशुल्क उपचार उपलब्ध गराइनेछ। यस पहलले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै डा. शर्माले चाँगुनारायण क्षेत्रका नागरिकलाई अत्याधुनिक उपकरणसहितको स्वास्थ्य सेवा आफ्नै घरआँगनमा उपलब्ध गराउने उद्देश्यले यो युनिट सञ्चालनमा ल्याइएको बताए। जटिल शल्यक्रिया र विशेषज्ञ सेवाहरू समेत स्थानीय स्तरमै प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
उनले भविष्यमा केएमसी सिनामंगललाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने र दुवाकोटस्थित दोस्रो युनिटलाई सर्वसाधारणमैत्री सेवा केन्द्रका रूपमा निःशुल्क तथा सशुल्क मोडेलमा सञ्चालन गर्ने योजना पनि सुनाए। साथै हुम्ला, जुम्ला लगायत दुर्गम जिल्लामा समेत स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिइएको जानकारी दिए।
अस्पतालले २४सै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा आकस्मिकदेखि नियमितसम्मका सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ। रोग पहिचानदेखि उपचारसम्मका प्रक्रिया अत्याधुनिक प्रविधिमार्फत सञ्चालन गरिनेछ।
यहाँ मुटु तथा रक्तनलीसम्बन्धी जटिल रोगको उपचारका लागि क्याथल्याब सेवा सञ्चालनमा ल्याइएको छ। यसमार्फत हृदयाघातका बिरामीको बिना शल्यक्रिया बन्द नसा खोल्ने, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने तथा भल्भसम्बन्धी समस्या समाधान गर्न सकिनेछ। मस्तिष्कमा रक्तस्राव (ब्रेन हेमरेज) तथा अन्य रक्तनलीसम्बन्धी समस्याको उपचार पनि यही प्रविधिबाट सम्भव हुने बताइएको छ।
अस्पतालमा ईआरसीपी सेवा पनि सञ्चालनमा रहेको छ, जसबाट पित्तनलीमा जमेको ढुङ्गा बिना शल्यक्रिया निकाल्न सकिन्छ। आधुनिक मोडुलर अपरेसन थिएटर, मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, स्त्री तथा प्रसूति सेवा, नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सेवा लगायत सुविधा उपलब्ध छन्।
यसका साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी जाँच, एक्स–रे, भिडियो एक्स–रे, एमआरआई र सीटी स्क्यानजस्ता परीक्षण सेवा सञ्चालनमा छन्। अस्पतालले निःशुल्क डायलिसिस सेवा समेत उपलब्ध गराउँदै आएको छ। नेपाल सरकारअन्तर्गतका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, विपन्न तथा आमा सुरक्षा कार्यक्रममार्फत पनि सेवा प्रदान गरिँदै आएको छ।
सुविधासम्पन्न क्याबिन, २४सै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्स सेवासहित केएमसी दुवाकोटले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend