सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदर्शनले क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागको सेवा निरन्तर

प्रदर्शनले क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागको सेवा निरन्तर

 

 

५ असोज,काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको ताहाचलस्थित वैदेशिक रोजगार विभागले श्रमसम्बन्धी सेवा भने अविच्छिन्न रूपमा दिइरहेको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा विभाग भवनमा आगजनी र तोडफोड भए पनि सुरक्षित रहेका केही कोठालाई प्रयोग गरेर आवश्यक सेवा सञ्चालन भइरहेको विभागले जनाएको छ ।

व्यक्तिगत श्रम स्वीकृति, वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष, प्रशासन शाखा, उद्धार तथा राहत समन्वय शाखा, आर्थिक प्रशासन शाखाबाट सेवा जारी रहेको श्रम मन्त्रालयका सह–प्रवक्ता तथा उपसचिव मेघनाथ रिमालले जानकारी दिए । उनका अनुसार धेरैजसो श्रमसम्बन्धी कार्य अनलाइन प्रणालीमार्फत हुने भएकाले भवन क्षतिग्रस्त भए पनि सेवामा ठूलो अवरोध आएको छैन ।

यस्तै, श्रमसम्बन्धी गुनासो तथा उजुरी संकलन, राहत र उद्धार सेवा सञ्चालनलाई विभागले प्राथमिकतामा राखेको छ । “वैदेशिक रोजगार विभाग प्रत्यक्ष जनतासँग सरोकार राख्ने निकाय भएकाले यसको सेवा निरन्तरता सुनिश्चित गरिएको छ,” सह–प्रवक्ता रिमालले भने, “यद्यपि, भौतिक संरचना क्षतिग्रस्त भएकाले कर्मचारीलाई व्यवस्थित रूपमा सेवा दिन भने कठिनाइ भइरहेको छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend