राम प्रसाद गैरे (आरपी) १५ असार, काठमाडौं । ईन्जिनियर राम कुमार ठाकुर (आर के ठाकुर ) सप्तरी जिल्लाको सुन्दर गाउँ मौवाहा, बलान बिहुल गाउँपालिका–३ मा २०२३ जेठ ३० गते जन्मिनु भएको थियो । उहाँका बुवा र्बचन ठाकुर र आमा बीणा देवी ठाकुरको कोखबाट जन्मेका उहाँको आगमनले ठाकुर परिवारमा नयाँ खुशीको लहर ल्याएको थियो। बुबा मेहनती, इमानदार र गाउँकै आदर्श व्यक्ति हुनुहुन्थ्यो भने आमा धर्मपरायण र ममतामयी हुनुहुन्थ्यो । उहाँहरूका सन्तानको रूपमा जन्मेका राम कुमारको प्रारम्भिक बाल्यकाल आफ्नै गाउँको हरियाली, बलान नदीको किनार र गाउँले जीवनशैलीसँगै रमाइलो गरी बित्यो। उहाँ भन्नुहुन्छ – “म सानोमा अलि चञ्चले स्वभावको थिएँ, सधैं साथीहरूसँग खेल्ने, नयाँ कुरा सिक्ने, खेल खेल्ने जस्ता परम्परागत खेलमै रमाउने गर्थें।” साँच्चिकै बाल्यकालका ती रमाइला क्षणहरूले नै उहाँको जीवनमा खोजी र जिज्ञासाको बीज रोपेको देखिन्छ।उहाँलाई धेरैले ई. आर के ठाकुरले पनि चिन्द छन् । उहाँको वुवा प्राविधिक ओ .सी .भएर ईन्जिनियर भए पनि मुख्य आर्जनको श्रोत कृषि नै रह्यो ।

बाल्यकालमा आर्थिक अवस्था सामान्य भए तापनि ठाकुर परिवारले शिक्षालाई प्राथमिकतामा राख्यो। घरको कृषि, पशुपालन र सामान्य व्यवसायबाट प्राप्त आम्दानीले जेनतेन घर चल्थ्यो। “हामी मध्यम वर्गको परिवारमा हुर्कियौं। पैसाको अभावले कहिले काहीं मन दुख्थ्यो, तर त्यसले पढ्ने जोश घटाएन। बरु पढेर केही गरेर देखाउने लक्ष्य बढाइरह्यो,” ईन्जिनियर ठाकुर सम्झनुहुन्छ। उहाँको परिवारमा संस्कार, नैतिकता र आपसी सद्भावका कुरा प्रमुख शिक्षा थिए। बुबा आमा सदैव इमानदारी, परिश्रम र धर्ममा विश्वास राख्न सिकाउँथे। यही कारणले गर्दा बाल्यकालदेखि नै उहाँमा सत्यको पक्षमा उभिने साहस र समाजसेवाको भावना बलियो हुँदै गयो।
उहाँले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट सुरु गर्नुभयो। बिहान स्कुल जानुअघि बाख्रा चौपायाको स्याहार, खेतबारीका स-साना काम, र विद्यालयको लामो बाटो हिँड्नु उहाँको दैनिकी थियो। गरिबी र अभावबीच पनि पढाइप्रति गहिरो लगाव राख्नु भएको ई. ठाकुरलाई शिक्षकहरूले प्रतिभाशाली र मेहेनती विद्यार्थीको रूपमा चिन्थे। उहाँलाई विज्ञान, गणित र प्राविधिक विषयहरूमा विशेष रुचि थियो। यही रुचिले गर्दा उहाँले उच्च माध्यमिक तहसम्म विज्ञान विषय पढेर इन्जिनियरिङको यात्रा सुरु गर्ने सपना बुन्दै अघि बढ्नुभयो।

विद्यालय जीवनमा उहाँले सांस्कृतिक कार्यक्रम, खेलकुद र वादविवादमा समेत सक्रियता देखाउनुभयो। गाउँमा आयोजना हुने मेलामा बाल क्लबमार्फत नाटक प्रस्तुत गर्नु, कविता लेख्नु, साथीहरूसँग मिलेर समाजमा सरसफाइ अभियान सञ्चालन गर्नु उहाँको नेतृत्व क्षमताको प्रारम्भिक अभ्यास थियो। त्यसैले विद्यालय मात्र पढाइको थलो नभई व्यक्तित्व विकासको पाठशाला बन्यो।
उहाँको प्राविधिक अध्ययनको यात्रा बी.ई. सिभिल इन्जिनियरिङमा पुगेपछि अझ दृढ भयो। अध्ययनको क्रममा धेरै कठिनाइहरू भोग्नु परे पनि कहिल्यै हार मान्नुभएन। गाउँबाट शहरसम्मको लामो यात्रा, खानपिन र बसाइको समस्याबीच पनि लक्ष्य प्राप्तिका लागि कठोर परिश्रम गर्नुभयो। उहाँ भन्नुहुन्छ – “जीवनमा निरन्तर प्रयास नै सफलताको मूल मन्त्र हो, त्यही बुझाइले मलाई अघि बढायो।”

शिक्षा पूरा गरी २०५५ देखि २०५८ सालसम्म भोजपुर जिल्ला विकास समितिमा सरकारी जागिर गर्दै अनुभव संकलन गर्नुभयो। सरकारी सेवा गर्दा उहाँले नेपालको ग्रामीण भेगमा विकासको वास्तविक अवस्था नजिकबाट देख्नुभयो। गाउँका मानिसहरूको जीवनस्तर, पूर्वाधारको कमी, विकास योजनाको कार्यान्वयनमा हुने ढिलासुस्तीले उहाँलाई सचेत बनायो। उहाँ भन्नुहुन्छ – “सरकारी संयन्त्रमा रहँदा मैले विकासको गति कति सुस्त छ भन्ने महसुस गरेँ। त्यसैले मैले सोचें – आफैं केही नयाँ गर्नुपर्छ।”
२०५८ सालपछि जागिर छोडेर आफ्नै व्यवसाय गर्ने निधो गर्नुभयो। उहाँले प्राविधिक सेवा प्रदायकका रूपमा व्यवसाय सुरु गर्नुभयो। आफैं संस्थापक बनेर ई. ठाकुरले आफूसँगै गाउँका युवालाई रोजगारी दिने वातावरण निर्माण गर्नुभयो। उहाँको इन्जिनियरिङ कम्पनीले प्राविधिक सेवा प्रदान गर्दै आएको छ।
यसै क्रममा उहाँको लगनशीलता र इमानदारीलाई कदर गर्दै विभिन्न संघसंस्थाबाट दर्जनौं सम्मान र पुरस्कारहरू प्रदान गरिएको छ। उहाँले आफ्नो व्यवसायसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिनुभयो। गाउँमा विद्यालय भवन निर्माण, पोखरी संरक्षण, सडक मर्मत, बाढीपीडितलाई राहत वितरण, शिक्षा सामग्री वितरण, सीपमूलक तालिम आयोजना जस्ता काममा अगुवाइ गर्नुभयो।

ई. ठाकुरको राजनीतिक दृष्टिकोण सधैं सत्य, न्याय र पारदर्शितामा केन्द्रित रह्यो। भ्रष्टाचारविरुद्ध उहाँको स्पष्ट दृष्टिकोणले गर्दा २०७२ सालमा ‘भ्रष्टाचार विरुद्ध नेपाल’ नामक संस्थाको संस्थापक अध्यक्ष बन्नुभयो। उहाँको नेतृत्वमा भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने, सरकारी निकायका कमजोरीमा आवाज उठाउने र पारदर्शिता सुनिश्चित गर्न थुप्रै अभियान सञ्चालन भए। केही महिना अघि उहाँले सो पद छोड्नुभयो भने पनि उहाँले सो क्षेत्र छोड्नु भएको छैन; अझै पनि समाज सुधारका लागि लागिरहनुभएको छ।
जीवनका सुखद र पीडादायक पक्षबारे उहाँले भन्नुहुन्छ – “जीवनमा सबैभन्दा ठूलो चोट मैले बुवाको निधनमा अन्त्येष्टि गर्दा महसुस गरें। त्यो क्षण मेरो लागि अत्यन्तै पीडादायक थियो।” तर जीवनका कठिन घडीहरूमा पनि उहाँले धैर्य र आस्थालाई सधैं बलियो बनाएर राख्नुभयो। जीवनलाई आध्यात्मिक अन्वेषणको यात्रा मान्ने उहाँ भन्नुहुन्छ, – “जीवनमा निराशा होइन, आशा र ऊर्जा लिएर अघि बढ्नुपर्छ। आध्यात्मिक भए जीवन सफल बन्छ।”
उहाँको निजी जीवनमा श्रीमती सुनिता देवी ठाकुर सधैं प्रेरणाको स्रोत बन्नु भएको छ। श्रीमतीले घरको हेरचाह, सन्तानको शिक्षा र संस्कारमा कुनै कसर बाँकी राख्नु भएन। उहाँका दुई छोराहरू छन् – जेठा छोरा ईन्जिनियर दिब्यम ठाकुर हाल इङ्ल्यान्डको ब्रिटेनमा आफ्नो व्यवसाय र प्राविधिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने कान्छा छोरा डा. अनुपम ठाकुर काठमाडौंको करुणा अस्पतालमा चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ दुबै छोरालाई आफ्नो जीवनको सफलताको प्रतिविम्ब ठान्नुहुन्छ।
पेशागत रूपमा ई. ठाकुरले आफूलाई कहिल्यै निश्चित सीमामा बाँध्नुभएन। उहाँले जीवनभर इमानदारी र निष्ठाको मार्ग समातेर सामाजिक रुपान्तरण गर्ने अभियानमा लागिरहनुभयो। उहाँका अनुसार, जीवनमा भेटिएका असफलताले उहाँलाई अझ बलियो बनायो। सरकारी सेवा छोडेर निजी क्षेत्रमा प्रवेश गर्दा भोगेका आर्थिक, मानसिक र पारिवारिक दबाबहरू उहाँका लागि सबल बन्ने पाठ बने। उहाँ भन्नुहुन्छ – “जोखिमा पनि अघि बढ्ने आँट नभए सफलता सम्भव छैन।”
उहाँको दृष्टिकोणमा मुलुकको विकासका लागि कृषिको आधुनिकीकरण, सीपमूलक शिक्षा र युवालाई रोजगारी सिर्जना नै महत्वपूर्ण छन्। उहाँलाई विश्वास छ, गाउँगाउँमा रोजगार सिर्जना भएन भने वैदेशिक पलायन रोकिँदैन, र मुलुकको विकास पनि सम्भव हुँदैन। उहाँको व्यवसायिक लक्ष्य प्राविधिक क्षेत्रमा अझ ठूलो संस्था खडा गरेर नेपालका दूरदराजसम्म प्राविधिक सेवा पुर्याउने रहेको छ।

धार्मिक रूपमा उहाँ कट्टर हिन्दू हुनुहुन्छ र धर्मले मानिसलाई नैतिक बनाउने विश्वास राख्नुहुन्छ। उहाँका अनुसार, धर्मसँगै जीवनलाई उच्च उद्देश्यसँग बाँधेर मात्रै जीवन सार्थक हुन्छ।
उहाँ जीवनको यात्रा सफल भएकोमा गर्व गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, – “म आत्मविश्वासका साथ भन्न सक्छु, म सफल छु। आध्यात्मिक भए जीवन आफैं सफल बन्छ।” उहाँको अनुभवले सिकाउँछ – जीवनमा परिश्रम, धैर्य र आत्मबल भए जे पनि सम्भव छ। उहाँ आजको पुस्ताका लागि प्रेरणा हुनुहुन्छ जसले गाउँको माटोबाट उठेर आफ्नो परिश्रम र इमानदारीले उदाहरणीय व्यक्तित्व स्थापित गर्नुभयो।
यसरी इन्जिनियर राम कुमार ठाकुरको जीवन एक सामान्य गाउँबाट सुरु भई प्राविधिक, व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै अघि बढेको कथा हो। उहाँको संघर्ष, सीप, लगन र आत्मबलले मात्र उहाँलाई सफल बनाएको होइन, उहाँका विचार, इमानदारी र समाजसेवाप्रतिको निष्ठाले उहाँलाई आजको अवस्थामा पुर्याएको छ। उहाँको जीवनले देखाउँछ – परिस्थितिले मानिसलाई पराजित गर्दैन, हिम्मत र सकारात्मक सोचले कठिनाइ जित्न सिकाउँछ। ई. ठाकुरले दिएको सन्देश अनुसार, “आशा र ऊर्जा जीवनका दिगो साथी हुन्; जोसँग यी छन् उसले असफलताको डर राख्नु पर्दैन।”
काठमाडौंको केन्द्र नयाँ बानेश्वरको व्यस्त क्षेत्रमा इन्जिनियर ठाकुर आफ्नो परिवारसहित बस्दै आउनुभएको छ । उहाँको बासस्थान र कार्यालय एउटै भवनमा रहेको छ, जहाँबाट उहाँले आफ्नो प्राविधिक सेवा प्रदायक व्यवसाय मात्र नभई सामाजिक अभियानसमेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँको कार्यालयमा पुग्ने जो कोहीलाई उहाँको सरलता र आत्मीय व्यवहारले मोहित पार्छ । इन्जिनियर ठाकुर प्राविधिक क्षेत्रमा आफ्नो दक्षता र सामाजिक क्षेत्रमा आफ्नो योगदानका कारण चर्चित हुनुहुन्छ । तर यतिले मात्र उहाँको पहिचान पुरा हुँदैन, किनकि उहाँ सधैं मुलुकको अवस्था र समाजको समस्यालाई गम्भीर रूपमा विश्लेषण गर्दै आउनुभएको छ ।

उहाँको विचारमा, अहिले देश भयावह राजनीतिक संकट र गम्भीर नैतिक पतनको फन्दामा परेको छ । देशका राजनीतिक नेतृत्व र शासनप्रणालीमा रहेको चरम भ्रष्टाचार र अनैतिकता देख्दा उहाँ निकै चिन्तित हुनुहुन्छ । उहाँका अनुसार राजनीति भनेको राष्ट्रसेवा गर्ने पवित्र माध्यम हुनुुपर्नेमा यहाँ राजनीतिलाई व्यक्तिले आफ्नो निजी स्वार्थका लागि प्रयोग गरेको र यसले राजनीतिलाई “फोहोरी खेल”मा परिणत गरिदिएको छ । उहाँ भन्छन्, “राजनीति अहिले जनताको हितको कुरा गर्ने होइन, आफ्नै सत्ता र सुविधा टिकाइराख्ने खेल भएको छ । जबसम्म यो फोहोरी खेल शुद्ध हुँदैन, तबसम्म देशको विकासको कल्पना पनि गर्न सकिँदैन ।”
देशको राजनीतिक र सामाजिक विकृतिविरुद्ध सक्रिय रहँदै उहाँले २०७२ सालमा “भ्रष्टाचारविरुद्ध नेपाल” नामक संस्था स्थापना गर्नुभयो । यस संस्थामार्फत उहाँले भ्रष्टाचारका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, नागरिकमा जिम्मेवारीबोध जगाउने र भ्रष्टाचार नियन्त्रणको माग राख्दै विभिन्न अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आफूले यी अभियान सञ्चालन गर्दा करिब ४० लाख रुपैयाँसम्म आफ्नै व्यक्तिगत खर्च गरेको तथ्य बताउनु भयो, जुन सुन्दा पनि उहाँको इमानदारिता र निःस्वार्थ सेवाभाव प्रष्ट देखिन्छ ।

उहाँका अनुसार, भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार वा कुनै शक्तिले मात्रै होइन, नागरिक स्वयंले पनि शुद्धताको पक्षमा आवाज उठाउन आवश्यक छ । उहाँ भन्छन्, “मैले संस्थामार्फत र व्यक्तिगत रूपमा भ्रष्टाचारका विरुद्ध धेरै पटक सडकदेखि सरकारी निकायसम्मको ढोका ढकढक्याएँ, तर सुधारको गति निकै सुस्त छ । तरपनि मैले हार मान्दिनँ, किनकि यो मेरो जीवनको उद्देश्य बनेको छ ।”
काठमाडौँमा आफ्नो कार्यालयबाटै उहाँले समय–समयमा भ्रष्टाचार विरुद्धका विभिन्न कार्यशाला, छलफल कार्यक्रम र जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आउनुभएको छ । उहाँको घर र कार्यालय नागरिकलाई खुलेको सामाजिक थलोजस्तै बनेको छ, जहाँ विभिन्न क्षेत्रका मानिस समस्या र समाधानको खोजीमा उहाँलाई भेट्न आउने गर्छन् । उहाँ आफूलाई प्राविधिक मात्र नभई, मुलुकको परिवर्तनका लागि सधैं प्रतिबद्ध नागरिकको रूपमा प्रस्तुत गर्न रुचाउनुहुन्छ ।
त्यसैले नयाँ बानेश्वरको उहाँको सानो तर सक्रिय कार्यालय आज एउटा यस्तो थलो बनेको छ, जहाँ देशको विकृति र समस्यामाथि निडर आवाज उठाइन्छ, र जहाँबाट एउटा स्वच्छ, इमानदार र समृद्ध नेपालको सपना साकार पार्ने चाहना बोकेका धेरैको आशा पलाउँछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend