सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता

भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता

           भरत बस्नेत

राम प्रसाद गैरे, ७ असार, काठमाडौं ।  २०१४ साल बैशाख ३ गते भोजपुर जिल्लाको डाँडा बख्यु गाउँमा जन्मिनु भएका भरत बस्नेत, नेपालका ती अग्रणी अभियन्ता हुनुहुन्छ जसले पर्यटनलाई केवल विदेशी भित्र्याउने औजार होइन, संस्कार, संस्कृति, संरक्षण र राष्ट्रनिर्माणको माध्यमका रूपमा स्थापित गर्नुभयो। उहाँको बाल्यकाल खोटाङ जिल्लाको चिसापानी गाउँपालिका–छेतुवामा बित्यो। बुबा स्व. रन्धोज बस्नेत र आमा स्व. इन्द्रकुमारी बस्नेतका जेठा सन्तान भरत बस्नेतको बाल्यकाल परम्परागत ग्रामीण परिवेशमा सम्पन्न जीवनशैलीभित्र रमाएको थियो।

उहाँका पिताले तीन विवाह गरी २० जना सन्तान जन्माउनुभएको थियो। त्यस्तो ठूलो परिवारमा हुर्कनु भनेको अनेकन व्यवहारिक जीवनपाठहरू आफ्नै अनुभवबाट सिक्नु हो। माइलो श्रीमतीबाट जन्मिनु भएका उहाँ, जेठा छोरा हुनुहुनाले परिवारको नेतृत्व, सहकार्य र जिम्मेवारी सानै उमेरबाट थालनी गर्नुभयो।

२०३३ सालमा शिक्षा प्राप्तिका लागि काठमाडौं प्रवेश गर्नु, उहाँको जीवनको नयाँ अध्यायको आरम्भ थियो। राजधानीको शहरी जीवन, विविध संस्कृति, चेतनाको विविधता र आधुनिकताको अनुभवले उहाँमा गहिरो प्रभाव छोड्यो। उहाँको जागिर यात्रा सुरु भयो नेपालको सबैभन्दा ठूलो ट्राभल्स कम्पनी ‘यति ट्राभल्स’ बाट—२०३६ सालमा।

त्यहाँ उहाँले पर्यटक व्यवस्थापन, सेवा, पर्यटनको अन्तर्राष्ट्रिय दृष्टिकोण र कम्पनी संचालनको विषयमा बहुआयामिक ज्ञान हासिल गर्नुभयो। यसपछि पाँच वर्षसम्म उहाँले चितवनमा रहेको “टाइगर टप्स जंगल लज” को केन्द्रीय कार्यालय, काठमाडौंमा काम गर्नुभयो। यो संस्था नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरीय पर्यटक सेवा दिनेमध्ये एक थियो।

यसको अनुभवले उहाँलाई वन्यजन्तु संरक्षण, इको-टुरिज्म र नेपाली संस्कृतिको प्रदर्शनको अन्तर्राष्ट्रिय महत्वबारे सजग बनायो। त्यसपछि २०४३ सालमा उहाँ पश्चिम जर्मनी भ्रमणमा जानुभयो—जहाँ तीन महिना बस्दै गर्दा उहाँले वातावरणमैत्री पर्यटन, सांस्कृतिक संरक्षण, हरियाली व्यवस्थापनजस्ता विषयहरूबारे नजिकबाट अध्ययन गर्नुभयो।

अर्को वर्ष, २०४४ सालमा उहाँ अमेरिकाको    तिन महिनाको भ्रमणमा जानुभयो। आधुनिक शहरी जीवन, नागरिक चेतना, सार्वजनिक संरचना, पर्यटक प्रबन्धन, प्रविधिको सदुपयोग जस्ता विषयमा त्यहाँबाट सिकेर नेपाल फर्किंदा उहाँ भित्र एउटा नयाँ सोच, आत्मबल र दृढता जन्मिसकेको थियो।

फर्किएर आउँदा उहाँले थाहा पाउनुभयो कि उहाँको जागिरमा अर्को व्यक्ति नियुक्त भइसकेको थियो। यो घटनाले उहाँलाई झस्कायो, तर तोडेन। उहाँले आफैंले केही गर्नुपर्छ भनेर निश्चय गर्नुभयो। यही निर्णय थियो—उहाँको उद्यमशीलताको प्रारम्भ। २०४४ सालमै उहाँले साइकल टुर सुरु गर्नुभयो। नेपालमा यस्तो  वातावरणमैत्री र ग्रामीण अनुभव दिन सक्ने यस्तो टुर पहिले कहिल्यै सुरु भएको थिएन।

त्यसपछि उहाँले आफ्नै ट्राभल्स कम्पनी खोलेर विदेशी पर्यटकलाई नेपाल चिनाउने अभियान थाल्नुभयो। त्यसै क्रममा उहाँले राफ्टिङ कम्पनी पनि स्थापना गर्नुभयो। उहाँको दृष्टिकोण सधैं संख्या भन्दा गुणस्तरमा केन्द्रित रह्यो। उहाँको भनाइ थियो, “हामीलाई धेरै पर्यटक होइन, सही पर्यटक चाहिन्छ—जो नेपाल बुझ्न चाहन्छ, अनुभव गर्न चाहन्छ।”

२०५४ सालमा नेपाली मौलिकता र वास्तुकलाको संरक्षण गर्ने अभियानस्वरूप उहाँले डिल्लीबजारमा अवस्थित तत्कालीन राजाका बडागुरुजुको जीर्ण घर २० वर्षका लागि करारमा लिएर त्यसको पूर्ण जिर्णोद्धार गर्नुभयो। यसलाई ‘भोजन गृह’ नाम दिएर नेपाली परिकार, सांस्कृतिक नृत्य, भेषभूषा र जीवनशैली देखाउने सांस्कृतिक केन्द्र बनाउनु भयो।

भोजन गृह केवल रेस्टुरेन्ट थिएन, त्यो एउटा संस्कृति संग्रहालय बन्यो। त्यसै वर्ष, उहाँले ठमेलको ज्याठामा मल्लकालीन शैलीमा ४० कोठाको ‘कान्तिपुर टेम्पल हाउस’ निर्माण गर्नुभयो। यो होटल परम्परा र आधुनिकताको सन्तुलनमा बनाइएको नेपालकै उदाहरणीय होटलहरूमध्ये एक बन्यो।

त्यस्तै, आफू बस्ने निवाससमेत मल्लकालीन शैलीमा बनाउनु उहाँको संस्कृति-प्रेमको प्रत्यक्ष प्रमाण हो। उहाँको सोच सधैं मौलिकताको पुनर्स्थापना र संवर्धनमा आधारित रह्यो। उहाँ भन्नुहुन्छ, “हामी केवल आधुनिकतालाई पछ्याउँदा मौलिकता हराउनेछ, त्यसैले दुवैको सन्तुलन राख्नुपर्छ।”

तर व्यवसाय सधैं सजिलो हुँदैन। उहाँको अर्को होटल गोरखामा थियो—जहाँ उहाँले स्थानीय रोजगारी, ग्रामीण पर्यटन र सांस्कृतिक संरक्षणको अभियान सञ्चालन गर्दै हुनुहुन्थ्यो। जनयुद्धको समयमा माओवादीले त्यो होटलमा दुईपटक बम विस्फोट गराएर ठूलो क्षति पुर्‍याए। मर्मत गरेर पुनः सञ्चालन गरेपछि फेरि क्षति भएपछि अन्ततः बन्द गर्नु पर्‍यो।

उहाँले त्यस घटनाको सम्झनामा भन्नु भएको छ , “धेरै मानिसले रोजगारी गुमाए, त्यसले मलाई भित्रैदेखि दुखायो। म मात्र होइन, देशैले गुमाएको थियो त्यो बेला।” उहाँको यो सोचले देखाउँछ कि उहाँ व्यापारलाई केवल मुनाफाको दृष्टिले हेर्नुहुन्नथ्यो, त्यो राष्ट्र सेवाको एउटा उपाय हो भन्ने उहाँको आत्म-विश्वास थियो।

२०५४ सालमै पूर्वी नेपालमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको छेउमा निजी जग्गा लिएर ‘कोशी टप्पु वाइल्ड लाइफ क्याम्प’ सञ्चालनमा ल्याउनुभयो। यो क्याम्प केवल पर्यटनको केन्द्र मात्र होइन, जैविक विविधता, संरक्षण शिक्षा र स्थानीय संलग्नताको नमुना बन्यो।

उहाँको परिवारिक जीवन पनि उस्तै समर्पणयुक्त छ। उहाँकी धर्मपत्नी सुनिता कुमारी बस्नेत सधैं उहाँको यात्रामा सहयात्री बन्नु भयो ।  उहाँहरूका तीन छोरीहरू छन्—जो आ-आफ्नो क्षेत्रमा अग्रणी छन्। उहाँको घरमा नेपालीपन, अनुशासन र सादगीको संगम पाइन्छ।

आजको दिनमा ‘भोजन गृह’ नेपाली मौलिक खानाका लागि सबैभन्दा अग्रस्थानमा रहेको स्थान हो—जहाँ नेपाली मात्र होइन विदेशी पनि मौलिक स्वाद र संस्कृतिको अनुभूति लिन पुग्छन्। कान्तिपुर टेम्पल हाउस पर्यटन क्षेत्रको शान बनेको छ।

 

वरिष्ठ पर्यटन उद्यमी भरत बस्नेतले नेपालको पर्यटन विकाससँगै सम्पदा र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आउनु भएको छ ।  उहाँले सधैँ पर्यटनलाई केवल आर्थिक लाभको माध्यम नभई संस्कार, सम्पदा, प्रकृति र वातावरणको समुचित समन्वयसहितको जिम्मेवार अभियान बनाउनुपर्ने धारणा राख्नुहुन्छ। उहाँको विचारमा, पर्यटकलाई सेवा गर्दा त्यसले देशको दीर्घकालीन फाइदा पनि सुनिश्चित गर्नुपर्छ—त्यसैले उहाँले पर्यटक सेवासँगै सम्पदा संरक्षण, वातावरणीय सन्तुलन र प्रदूषण न्यूनीकरण गर्ने योजनासहित व्यापक अभियान नै सञ्चालन गर्नुभएको थियो।

उहाँले विगत सम्झिँदै भन्नुभयो, “त्यो बेला काठमाडौंमा प्रदूषणको मूल स्रोत बनेका सार्वजनिक यातायात—बिक्रम ट्याम्पो र थोत्रा बसहरू—लाई विस्थापन गर्न हामी सफल भयौँ।” यो काम सहज थिएन, तर जिम्मेवार पर्यटन व्यवसायीहरूले मिलेर थालनी गरेको यस पहलले काठमाडौं उपत्यकाको वायुप्रदूषण घटाउन महत्वपूर्ण योगदान पुर्‍यायो। बस्नेतका अनुसार त्यो पहलले पर्यटकमैत्री र वातावरणमैत्री वातावरण सिर्जना गर्न मद्दत गर्‍यो।

चितवन राष्ट्रिय निकुञ्जको सन्दर्भ उठाउँदै बस्नेतले दुःख व्यक्त गर्नु भयो ।  उहाँको धारणा अनुसार, अफ्रिकापछि वन्यजन्तु अवलोकनको सबैभन्दा ठुलो गन्तव्य मानिएको चितवनको वाइल्डलाइफ टुरिजम नै नेपालमा ‘गुणस्तरीय पर्यटक’ भित्र्याउने प्रमुख आधार थियो। तर सरकारले निकुञ्जभित्र सञ्चालनमा रहेका होटल तथा लजहरू बन्द गरेपछि उच्चस्तरीय पर्यटकको आगमनमा ठूलो गिरावट आयो। वनभित्रका लजहरू जहाँ वन्यजन्तुसँग नजिकको अनुभूति लिन पाइन्थ्यो, तिनको बन्दले न पर्यटन क्षेत्रको हित भयो, न त राज्यको राजस्वमा वृद्धि नै। बरु, अहिले त जंगल बाहिर साना होटलहरू खुलेका छन्, जहाँ सामान्य सेवा मात्र पाइन्छ। उहाँले  भन्नुभयो, “अब ती ठाउँमा न त खर्चिला पर्यटक नै आउँछन्, न त राज्यलाई पहिलेजस्तो आम्दानी नै भएको छ।”

२०५४ सालमा सरकारले ‘नेपाल भ्रमण वर्ष १९९८’ घोषणा गरेपछि देशभर व्यापक प्रचारप्रसार र तयारीको थालनी भयो। त्यसबेलाको सरकारी रणनीति संख्यात्मक लक्ष्यमा केन्द्रित थियो—एक वर्षमा १० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरिएको थियो। तर, बस्नेतजस्ता अनुभवी व्यवसायीहरू गुणस्तरीय पर्यटकको अवधारणा लिएर अघि बढेका थिए। उनीहरूको सुझाब थियो, “पर्यटकको संख्यामा होइन, उनीहरूले ल्याउने मूल्य, संस्कृति, र अन्तरक्रियामा ध्यान दिनुपर्छ।”

तर सरकारले पर्यटक संख्याको लक्ष्यलाई प्राथमिकता दिँदा गुणस्तरीय सेवातर्फ अपेक्षित ध्यान जान सकेन। काठमाडौं उपत्यकाभित्रको प्रदूषण कम गर्न उहाँहरूले उठाएको कदम—पुराना सार्वजनिक सवारी हटाई नयाँ युरो–४ मापदण्डअनुसारका गाडी ल्याउने प्रस्ताव—त्यो समयको क्रान्तिकारी सोच थियो। यसले राजधानीको यातायात प्रणाली र पर्यावरण सुधारतर्फ महत्वपूर्ण प्रभाव पारेको थियो। थुप्रै असहजता, विरोध र संकटका बाबजुद पनि बस्नेत नेतृत्वमा सुरु गरिएको अभियानले परिवर्तन ल्यायो।

उहाँका यी प्रयासहरू केवल पर्यटनमै सीमित छैनन्, बरु सामाजिक उत्तरदायित्व, वातावरणीय न्याय र राष्ट्रिय छविको पुनर्निर्माणसँग गाँसिएको देखिन्छ। भरत बस्नेत जस्ता व्यवसायीहरूको यो योगदानले केवल निजी उद्यमको सफलताको कथा मात्र होइन, नेपालको समग्र पर्यटन नीतिमा पारदर्शिता, सन्तुलन र दीर्घकालीन सोचको खाँचोबारे प्रश्न पनि खडा गर्छ। आज पनि उहाँको धारणा सान्दर्भिक छ—पर्यटन केवल पैसा होइन, देशको आत्मा र छविको प्रतिनिधित्व हो। यदि हामीले पर्यटनलाई दिगो, गुणस्तरीय र सम्वेदनशील बनाएनौँ भने, विकासको हाँक केवल नारामा सीमित हुनेछ। भरत बस्नेतले हामीलाई सिकाउनुभएको छ कि पर्यटन केवल व्यवसाय होइन—त्यो संस्कृति, शिक्षा, रोजगारी र राष्ट्र सेवाको समिश्रण हो। उहाँले देखाएको मार्ग, उहाँको सपना, उहाँको सङ्घर्ष र सिर्जनाले नेपाली पर्यटनलाई मात्र होइन, नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बनाएको छ। उहाँको जीवनले हामीलाई सधैं सम्झाइरहन्छ: “परिश्रम, प्रतिबद्धता र मौलिकता हुँदा कुनै पनि व्यक्ति राष्ट्र निर्माता बन्न सक्छ।”  भरत बस्नेत एक नाम मात्र होइन—एक विचार, एक दर्शन र एक प्रेरणा हुनुहुन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend