आरपी गैरे, २ असार, काठमाडौं । नेपालका ग्रामीण भेगमा निस्कने कथाहरू कहिले सुनिन्छन्, कहिले हराउँछन्। तर केही पात्रहरू यस्ता हुन्छन्, जसले आफ्नो जीवनको सम्पूर्ण समय जनताको सेवा र समाजको हितमा समर्पित गरेका हुन्छन्। त्यस्ता व्यक्तित्वमध्ये एक हुन्, सुरत बहादुर केसी—जसको जीवनले राजनीतिलाई नाफाको व्यापार होइन, सेवा र बलिदानको पथ देखाएको छ।
उहाँको जीवन कथा एक जनप्रतिनिधिको मात्र होइन, एउटा समयको दस्तावेज हो, जहाँ निष्ठा, इमानदारी र आत्मसम्मान मिसिएको छ।
सुरत बहादुर केसीको जन्म १९९८ सालमा अर्घाखाँची जिल्लाको तत्कालिन खिल्जी गाउँ—आजको भूमिका स्थान नगरपालीका वडा नं. ६— खिल्जी गाडाकोटमा भएको हो। उहाँका पिता ज्ञान बहादुर केसी र माता खिमकला केसी हुनुन्थ्यो । पहाडी जीवनशैलीको कठोर परिवेशमा जन्मिनुभएका सुरत बाल्यकालदेखि नै परिश्रमी, अनुशासित र जिम्मेवार हुनुन्थ्यो । बुबाआमाको अनुशासनले उहाँलाई सामाजिक उत्तरदायित्वप्रति संवेदनशील बनायो। गाउँको कठिन जीवनशैलीले उहाँमा सहनशीलता र धैर्यता विकास गराएको थियो।
उहाँले दुई विवाह गर्नु भएको थियो। पहिलो श्रीमती चित्रकला केसीबाट उहाँका एक छोरा—नरेन्द्र केसी—र तीन छोरीहरू जन्मिए। दुर्भाग्यवश, नरेन्द्र केसीको हालसालै निधन भएको छ, जसको कारण अहिले सुरत केसी गहिरो शोकमा हुनुहुन्छ।
उहाँका दोस्रो श्रीमती धनकुमारी केसीबाट तीन छोरा र तीन छोरी जन्मिए। तर दुखको कुरा, दोस्रो श्रीमतीको पनि करिब एक वर्षअघि निधन भएको छ। जीवनको उत्तरार्धमा एकपछि अर्को पारिवारिक वियोगले उहाँलाई थप एक्लो र संवेदनशील बनाएको छ।
२०२७ सालमा सुरत बहादुर केसीको औपचारिक राजनीतिक यात्रा सुरु भयो। त्यस वर्ष उहाँ खिल्जी गाउँ पञ्चायतको प्रधान पञ्चमा निर्वाचित हुनुभयो। अनि त्यसपछि झन्डै दुई दशकसम्म—२०४६ सालसम्म—उहाँ लगातार पाँच कार्यकालसम्म निर्वाचित हुनुभयो। उहाँले कहिल्यै निर्वाचनमा हार व्यहोर्नु परेन।
नेतृत्व क्षमताको सम्मान स्वरूप गाउँलेले उहाँलाई निरन्तर विश्वास गरे। उहाँको बोलाइमा सादगी थियो, तर निर्णयमा दृढता। उहाँले विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, बाटोघाटो, सिंचाइजस्ता आधारभूत विकासका कामहरूमा विशेष योगदान पुर्याउनुभयो। त्यही समयको उहाँको प्रयासले आजका ग्रामीण पूर्वाधारको जग बसालेको देखिन्छ।
राजनीतिमा लाग्दा उहाँले धन, समय र श्रम सबै अर्पण गर्नुभयो। “राजनीति भनेको सेवा हो, व्यापार होइन”—उहाँको स्थायी धारणा यही थियो। त्यसैले उहाँले भन्नुहुन्छ—“म राजनीतिमा लागेर आधा सम्पत्ति गुमाएँ, आजको दिनमा केही छैन, तर पछुतो छैन। सेवा गरें, सन्तोष छ।”
त्यो समय पैसा कमाउने राजनीति थिएन। उहाँले आफ्नो सम्पत्ति—खासगरी अर्घाखाँचीमा रहेको अंश—राजनीति र जनसेवामा खन्याउनुभयो। चुनाव, जनसंपर्क, गाउँघरतिरको दौडधुपमा उहाँले जीवनका सुनौला वर्षहरू समाजसेवामा दिनु भयो ।
उहाँ भन्नु हुन्छ , “आजका नेताजस्तो होइन, हामी त चुनाव जित्न होस् भनेर घर जग्गा बेच्थ्यौं। हाम्रो नीतिमा समाज थियो, आफन्त थिएनन्, स्वार्थ थिएन।”
उहाँको कुरामा पीडा थियो, तर घमण्ड थिएन। एउटा आदर्श नागरिकको आवाज थियो, जसले राजनीति जनताको ढोका ढक्ढक्याउने माध्यम हो भन्ने विश्वास कहिल्यै छाडेन।

२०४६ सालमा नेपालमा प्रजातन्त्र पुनःस्थापनासँगै गाउँ पञ्चायतको संरचना विघटन भयो। त्यसपछिको राजनीतिक संरचना परिवर्तनसँगै सुरत बहादुर केसीले सक्रिय राजनीति छाड्ने निर्णय गर्नुभयो। त्यसपछि जीवन यापनका लागि उहाँले अर्घाखाँचीबाट रुपन्देही बसाइ सर्नुभयो।
तर स्थायीत्वको खोजीमा त्यो बसाइ पनि लामो टिकेन। फेरि रुपन्देहीबाट बर्दिया जिल्लाको बाँसगढीमा सरेर करिब ६ वर्ष बस्नुभयो। त्यहाँ पनि जग्गा किनेर बसेका सुरत केसी, अन्ततः वर्तमानमा कपिलवस्तु जिल्लाको इमिलिया, बुद्धनगरपालिका क्षेत्रमा स्थायी रूपमा बस्न थाल्नु भयो । यो बसाइसराइ केवल घरको मात्र होइन, जीवनको उतारचढावको साक्षी पनि हो।
हालको अवस्था भने उदासिन र पीडादायक छ। उमेरले जीवनको उत्तरार्धमा प्रवेश गरेका सुरत बहादुर केसी अहिले हृदयरोग (मुटु) र मृगौला (किड्नी) सम्बन्धी समस्याले पीडित हुनुहुन्छ। नियमित औषधि र उपचारको आवश्यकता छ।
तर लामो संघर्षपछि उहाँ आर्थिक संकटको शिकार हुनुभएको छ। “औषधि किन्न पैसा छैन,”—उहाँको भक्कानो यथार्थ हो।
तर, यो संकटमा पनि उहाँ हार मान्नु भएको छैन । सरकारसँग केही माग नगरे पनि, उहाँले सामाजिक संस्थाहरू र राज्यको ध्यान आफूजस्ता पुराना जनप्रतिनिधितर्फ जानु आवश्यक रहेको संकेत गर्नुभएको छ।

सुरत बहादुर केसीले आफ्नो जीवनकालमा राष्ट्रले प्रदान गर्ने दुई महत्वपूर्ण सम्मान प्राप्त गर्नुभयो—‘शुभराज्य विशेष पदक’ र ‘जनसेवा पदक’। ती पुरस्कार राजा वीरेन्द्र वीर विक्रम शाहदेवका पालामा प्रदान गरिएका थिए।
यस्ता सम्मानहरू उहाँको योगदानको औपचारिक मान्यता हुन्। तर आजको दिनमा ती पदकहरू काठका फ्रेममा झुण्डिएर बसेका छन्, जसको मूल्य उहिल्याको सम्झनाजति मात्र बाँकी छ।
आजको राजनीति देख्दा उहाँ दुखी हुनुहुन्छ। “अहिले राजनीति पैसा कमाउने माध्यम भयो, समाज सेवा होइन,”—उहाँ भन्नु हुन्छ ।
उहाँका लागि राजनीति धर्म थियो, अचेल व्यापार बनिसकेको देख्दा उहाँको आत्मा चिरिएको महसुस हुन्छ। “हामीले सपनाको राजनीति गर्यौं, अहिले सपनाको सौदाबाजी भइरहेको छ,”—उहाँका शब्दहरू तीखा, सत्य र दुखद छन्।
सुरत बहादुर केसीको जीवन नेपाली राजनीति र समाजसेवामा एउटा आदर्श मानक हो। उहाँको अपराजित राजनीतिक यात्रा, निःस्वार्थ सेवा, सम्पत्तिको बलिदान, पारिवारिक वियोग र आजको सङ्घर्षले एउटा युगको प्रतिनिधित्व गर्छ।
राजनीति कुन दिशामा जानु पर्छ भन्ने उत्तर उहाँले आफ्नो जीवनले दिएको छ। उहाँले भनेजस्तै—“सबै गुमाएँ, तर पछुतो छैन। जनताको मन जितेँ, राजनीति यस्तै हुनु पर्छ।”
आजको दिनमा, राष्ट्रले सुरत बहादुर केसीजस्ता पुराना सेवकहरूलाई केवल बिर्सनु हुँदैन—उहाँहरूलाई सम्मान, स्वास्थ्य सुविधा, र जीवनको उत्तरार्धमा सहजताको प्रत्याभूति दिनु राष्ट्रको कर्तव्य हुनुपर्छ।
उहाँको जस्तो जीवन यथार्थले जनप्रतिनिधि हुन कति गाह्रो छ, कति बलिदान लाग्छ भन्ने कुराको पाठ दिन्छ। सुरत बहादुर केसीहरू बाँकी रहनुपर्छ—न केवल जीवित इतिहासका रूपमा, तर नयाँ पुस्ताको आदर्श प्रेरणाको रूपमा पनि।प्रस्तुतीः आरपी गैरे
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend