काठमाडौं २०७९ फागुन २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।
मन्त्रालयले संघ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ।
यस्तै कार्ययोजनामा संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ।
यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ। कार्ययोजनामा ‘मेक इन नेपाल’को मर्मअनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरू स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend