खवरब्रेकिंग संवाददाता
काठमाडौँ, २०७९ माघ २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छिन । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले निजी क्षेत्रलाई सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न आह्वान गरिन ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरू निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सबै पक्षलाई आग्रह गरिन ।
उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताईन ।
मन्त्री शर्माले यस क्षेत्रको विकासको निम्ति सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले सविस्तार अध्ययन गरेर सम्बन्धित कानुन संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।
माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend