काठमाडौं ,५असोज । सुन्दर यातायात प्रा.लि.ले नयाँ इलेक्ट्रिक स्कुटर आर्चर सार्वजनिक गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर सार्वजनिक गर्दै यातायातका लागि विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
निर्देशक घिसिङले पछिल्लो समय निजी सवारीसाधनमा विद्युतीय सवारीसाधन रुचाइएकोमा सार्वजनिक यातायातका लागि पनि विद्युतीयलाई नै प्रोत्साहन गर्नुपर्ने बताए ।
उक्त अवसरमा सुन्दर ग्रुपका अध्यक्ष भेषबहादुर थापाले अबको १ वर्षमा नेपालभरि २५ वटा चार्जिङ स्टेसन स्थापना गर्ने जानकारी दिए ।
‘सार्वजनिक विद्युतीय बस सञ्चालनबाट सुरु भएको हाम्रो यात्रा अहिले स्कुटरसम्म आइपुुगेको छ । केही स्थानमा हाई भोल्टेजको चार्जिङ स्टेसन स्थापना गरिसकेका छौँ भने १ वर्षभित्र २५ स्थानमा राख्दैछौँ,’ उनले भने।
सुन्दरले अहिले ल्याएको स्कुटर सस्तो र किफायती भएको थापाको दाबी छ । यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । यसमा १० किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ, जसलाई फुल चार्ज गर्न ३ घण्टा ४५ मिनेट लाग्ने कम्पनीको भनाइ छ ।
४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटर फुल चार्जमा २ सय किलोमिटर गुड्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसको मूल्य २ लाख ४० हजार निर्धारण गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend