काठमाडौं २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । लोसपाले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको चुनाव गराउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।
स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो । वैशाख ३१ गते भएको पहिलो चरण चुनाव संविधान अनुसार नै भइरहेपनि असार १४ गते भएको दोस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव डेढ महिना अगाडि नै भइरहेको लोसपाको भनाइ छ ।
असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनलले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend