काठमाडौं २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। समयमा नै स्थानीय तहको निर्वाचन गर्न माग राख्दै अनेरास्ववियुले बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो। अनेरास्ववियुका अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय सदस्य सुनिता बरालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन टोली गएको थियो । निर्वाचनको मिति घोषणा गर्न माग राख्दै अनेरास्ववियुले दबाबमुलक कार्यक्रम गरिरहेको छ ।
निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुले जनाएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारका उपसचिव जनकराज भट्टमार्फत् प्रधानमन्त्रीलाई पत्र बुझाइएको हो। निर्वाचन आयोगले केही दिनअघि निर्वाचनको मिति घोषणा गर्न गरेको आग्रहसहितको पत्र राखेर ध्यानाकर्षण पत्र बुझाइएको बरालले बताइन्।
तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गर्न यहाँको ध्यानाकर्षण गर्दछौं,’ पत्रमा भनिएको छ। निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियु कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend