काठमाडौं ११माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गरेका छन । रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा उनले यस्तो बताएका हुन ।
‘प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन,’ उनले भने, ‘हामी लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं।’अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका छन्। उनले अहिले नै चुनाव हुने अवस्था नरहेको बताए। अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै तहको चुनाव हुनेछ।
‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ। ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ,’ रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘संविधानमा गाउँरनगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।’
जसअनुसार ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुने उनले बताए। अध्यक्ष नेपालले अबको चुनावमा सत्तारूढ गठबन्धनका पाँच दल सँगै जाने पनि बताएका छन्।
‘पाँच दल मिलेर चुनावमा जान्छौं,’ उनले भने, ‘कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ।’
अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend