आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेपछि एमालेले दियो यस्तो प्रतिक्रिया

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेपछि एमालेले दियो यस्तो प्रतिक्रिया

 

 

काठमाण्डौं ७ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन्
सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप उनले लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।

उनले भने, ”गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो ।” गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।

कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।

‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो,’ उनी भन्छन् ।
स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।

आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend