काठमाण्डौं २७ पुष । नेकपा (एमाले) ले सीमा विवादको विषयमा भारतसँग गम्भीर संवाद गर्न सरकारसँग माग गरेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका नेपाली भूभाग आफ्नोमा पार्न महाकाली नदीको नाम परिवर्तन गरेको, नेपाली भूमि अतिक्रमण गरेर सडक विस्तार गर्दा पनि सरकार मौन रहेका वेला एमालेले यस्तो आग्रह गरेको हो। प्रमुख प्रतिपक्षी दल एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ, “राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहस्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ।”
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न विगतमा नेपाल सरकारले पहल गरिसकेको विज्ञप्तीमा उल्लेख छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २०७७ सालमा नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी गरेको थियो।
विवादिद क्षेत्रमा राज्यस्तरबाट संरचना निर्माण गर्न नहुनेमा एमालेले जोड दिएको छ। “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने गतिविधि तत्काल बन्द हुनुपर्छ, सडक लगायत संरचना निर्माण रोकिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “वार्ताको माध्यमबाट समाधान नखोजिंदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने एमालेको अविचलित मान्यता छ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend