काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
बिहानको समयमा कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।
पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । भारी वर्षा हुने सम्भावित क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend