काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा बाबुराम भट्टराईले तराई–मधेशका विभिन्न भागमा फैलिरहेको साम्प्रदायिक दंगा र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सबै पक्षलाई संयमित हुन र एक ढिक्का भएर संकट समाधानमा लाग्न आग्रह गरेका हुन ।
पूर्वप्रधानमन्त्री भट्टराईले केही दिनयता मधेशमा भइरहेको हिंसात्मक गतिविधिले ठूलो संख्यामा जनधनको क्षति पुर्याएको र देशमा असहज परिस्थिति निर्माण गरेको उल्लेख गरेका छन्। उनले यस किसिमको अशान्ति राष्ट्रिय चिन्ताको विषय भएको बताएका छन्।
“विवेकमाथि आवेग हावी हुँदै गयो भने झन् अकल्पनीय परिस्थिति उत्पन्न हुन सक्छ,” भट्टराईले लेखेका छन्, “विभिन्न दृश्य तथा अदृश्य शक्तिहरूले हात हालेर संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न हुन सक्छ।”
आन्तरिक फुटका कारण बाह्य शक्तिले फाइदा उठाउने भन्दै उनले ‘भाइ फुटे गँवार लुटे’ को स्थिति आउन दिन नहुने चेतावनी दिएका छन्। यो आसन्न संकटलाई तुरुन्तै निमिट्यान्न पार्न सरकार, राजनीतिक दलहरू र सबै जाति, धर्म तथा समुदायका देशभक्त नागरिकहरू कुनै ‘किन्तु(परन्तु’ नगरी एक हुनुको विकल्प नरहेको उनको भनाइ छ।
विवाद र अशान्तिका बीच राज्यका माथिल्लो तहका नेतृत्व, राजनीतिक दल र सामुदायिक नेताहरूबीच सुरु भएको संवाद र सहकार्यलाई भने उनले सकारात्मक कदमका रूपमा लिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend