राम प्रसाद गैरे,(आरपी) १८ असार , काठमाडौं । नेपालको सांगीतिक इतिहासमा शास्त्रीय संगीत साधनालाई जीवनको मूल साधन ठानेर निखार्दै आएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय एउटा यस्तो नाम हुन्, जसले आफ्नो साधना र सिर्जनाबाट नेपाल मात्रै होइन, भारतमा समेत आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएका छन्। नेपालका अधिकांश सांगीतिक साधकहरू पाश्चात्य वा आधुनिक धारमा लागिरहेका बेला उनले भने कठिन र लामो साधनायुक्त शास्त्रीय पथ रोजे र त्यहीमा आफूलाई समर्पित गरे। उनको जीवनको पृष्ठभूमि नै संगीतले भरिएको थियो । बुबा जलेसानन्द रेडियो नेपालका जागिरे शास्त्रीय संगीतकार थिए, जसको प्रेरणाले उनले बाल्यकालदेखि नै संगीतको सङ्गत गरे । रेडियो नेपालको वातावरणले उनलाई संगीतमा रमाउन र साधनाको महत्व बुझ्न मद्दत गर्यो ।

उनले करिब चार दशकअघि शास्त्रीय संगीतको औपचारिक यात्रा सुरु गरेका थिए । जीवनका प्रारम्भिक दिनहरूमा आर्थिक कठिनाइ, सामाजिक बेवास्ता र शास्त्रीय संगीतप्रतिको घट्दो रुचिका कारण निरन्तर साधना गर्ने वातावरण पाउन कठिन थियो । तर, उनले बुबाको प्रेरणा र आफ्नो अदम्य आत्मविश्वासका बलमा यो यात्रा कहिल्यै रोकेनन् । सन् २००२ मा रेडियो नेपालद्वारा आयोजित जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम भएपछि उनी संगीत क्षेत्रमा चिनिन थाले । यसले उनलाई अझ बढी आत्मविश्वास दियो र थप लगनशील बनायो । त्यसपछि उनले नेपाल र भारतका विभिन्न कार्यक्रममा सरोदवादन गर्दै आफ्नो कला फैलाउँदै लगे ।
शास्त्रीय संगीतमा उनी निरन्तर लागिरहे पनि नेपालको परिवेशले उनलाई अपेक्षित सम्मान र अवसर दिइरहेको अनुभव भएन । बरु, भारतमा उनले प्रशस्त अवसर पाए र आफ्नै कलाबाट भारतीय श्रोताको मन जित्न सफल भए । भारतमा उनका प्रस्तुति निकै चर्चित बने र त्यहाँका संस्थाबाट विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरे । भारतको पश्चिम बंगाल सरकारले सन् २०१३ मा उनलाई सम्मानित गर्यो, जुन उनको साधनाको ठूलो मूल्याङ्कन थियो । त्यसपछि सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट, २०१८ मा शास्त्र सम्मान, सेभ द नेसन अवार्ड, भव्या इन्टरनेसनलको इन्डियन बेस्टिज अवार्ड २०१९ लगायत थुप्रै पुरस्कारले उनको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्यो ।
नेपालमा भने उनको संगीतको कदर हुन सकेन भन्ने कुराले उनलाई पीडा दिइरह्यो । नेपालमा शास्त्रीय संगीतको महत्व घट्दै गएको उनले अनुभव गरे । उनलाई लाग्यो – श्रोताको संख्या पनि निरन्तर घटिरहेको छ र शास्त्रीय संगीतलाई नयाँ पुस्ताले सुन्ने वा सिक्ने रुचि कमाउँदै गइरहेका छन् । यो अवस्थाले उनलाई शास्त्रीय संगीतप्रति नेपाली समाजको संवेदनशीलता कमजोर भएको महसुस गरायो । नेपालमा आर्थिक तथा संरचनागत कारणले पनि शास्त्रीय साधकहरूले निरन्तर साधना गर्न कठिनाइ भोगिरहेका छन् । सुदर्शन पनि त्यसैबाट अछुतो रहेनन् । उनले संगीत साधनाबाट बिहानबेलुकीको जोहो गर्न नसक्दा पछिल्लो दशकदेखि हस्पिटालिटी क्षेत्रमा जागिर गर्न थालेका छन् ।
संगीतसँगै अध्ययनलाई पनि उनले निरन्तरता दिए । एमपीएसहित चारवटा विषयमा डिग्री लिएर उनले आफूलाई शैक्षिक हिसाबले पनि सशक्त बनाएका छन् । तर, शास्त्रीय संगीतमा समर्पित जीवनले उनलाई आर्थिक सन्तोष दिन नसकेपछि विवशतावश जागिर गर्नु परेको उनी बताउँछन् । जागिरका कारण परिवारको आधारभूत आवश्यकता पूरा गर्न सजिलो भयो, तर संगीत साधनामा चाहिँ समय छुट्याउन कठिनाइ भएको उनले बताउँदै आएका छन् ।

उनको जीवनको अर्को चुनौती भनेको नेपालको सांगीतिक संस्थागत व्यवस्थाले शास्त्रीय संगीतलाई प्राथमिकतामा नराखेको हो । उनको भनाइमा, नेपालमा शास्त्रीय संगीत न सँगित विद्यालयहरूले प्राथमिकतामा राखेका छन्, न त सार्वजनिक सञ्चार माध्यमले नै त्यसलाई प्रोत्साहित गरेका छन् । फलतः नयाँ पुस्ताले शास्त्रीय संगीतप्रतिको रुचि गुमाउँदै गइरहेका छन् । सुदर्शनको पीडा यही हो – जब उनले नेपाली श्रोताबाट अपेक्षित कदर र अवसर पाएनन् भने विदेशतिर आफ्नो प्रतिभा उजागर गर्ने बाटो खोज्न बाध्य हुनुपर्यो । यही कारण कतिपयले उनलाई भारतीय नागरिक नै हो कि भनेर शंका गर्ने गरेको प्रसंगमा उनी निकै दुःखी छन् ।
उनले स्पष्ट पार्छन् – ‘भारतमा म धेरै प्रस्तुतिहरू गर्न पाएँ, तर म नेपाली नागरिक नै हुँ । मैले जन्मदेखि यत्तिकै नेपाली भएर शास्त्रीय संगीत साधना गरिरहेको छु ।’ उनी नेपाली भएर पनि भारतमा बढी चर्चित हुनुको पछाडि नेपालको संगीत क्षेत्रमा संरचनागत कमजोरी रहेको ठान्छन् । नेपालमा अवसर र श्रोताको अभावका कारण प्रतिभाले घरमै ओझेलमा पर्नुपर्ने अवस्था सिर्जना भएको उनले अनुभव सुनाउँछन् ।
उनी भन्छन् – ‘नेपालमा शास्त्रीय संगीत सिक्ने वातावरण बनाइनुपर्छ, विद्यालयस्तरदेखि नै यसको तालिम सुरु गर्नुपर्छ । जबसम्म यसलाई पाठ्यक्रममा समावेश गरिँदैन, तबसम्म नयाँ पुस्ता शास्त्रीय संगीतप्रति आकर्षित हुने सम्भावना छैन ।’ उनी आफ्नो व्यक्तिगत अनुभवबाट भन्छन् – ‘नेपालमा अवसर खोज्दै समय बित्यो । भारतमा भने मैले सहजै प्रस्तुति गर्ने अवसर पाएँ । नेपाली कलाकारले आफ्नै देशमा अवसर पाउन नसक्नु दुःखको कुरा हो ।’
शास्त्रीय संगीतमा करियर बनाउन चाहने युवाहरूलाई उनले सल्लाह दिन्छन् – ‘संगीतमा निरन्तर अभ्यास, लगनशीलता र धैर्य जरुरी छ । जबसम्म आफ्नो सीपमा विश्वास राखेर निरन्तर साधना गरिँदैन, तबसम्म सफलता हासिल गर्न गाह्रो हुन्छ ।’ उनी भन्छन्, ‘जीवनमा साधना नै सबैभन्दा ठूलो सफलता हो । पुरस्कार, मानसम्मान त त्यसको परिणाममात्र हुन् ।’

उनले पाएको सम्मानहरू नेपाली संगीतकला र संस्कृति प्रतिको उनको योगदानको अन्तर्राष्ट्रिय पहिचान हुन् । तर, उनले महसुस गरिरहेका छन् – नेपालको साङ्गीतिक संरचना, नीति र कार्यक्रममा आमूल सुधार नगरिएसम्म अरु सुदर्शनहरूले पनि बाध्यतावश परदेशिनुपर्ने स्थिति कायमै रहनेछ । उनी संगीतको विकासका लागि राज्य, सांगीतिक संघसंस्था, सञ्चारमाध्यम, शैक्षिक निकाय र निजी क्षेत्र सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिन्छन् ।
यसैगरी, उनले आफ्नो जीवनको भोगाइबाट थुप्रै सफलता र असफलताको मिश्रित अनुभव बटुलेका छन् । सफलताको हिसाबले उनी नेपाल र भारतमा प्रशंसा र सम्मान पाउन सफल भए, शास्त्रीय संगीतमा आफ्नो पृथक पहिचान बनाउन सके, भारतीय दर्शक र समीक्षकबाट समेत प्रशंसा पाए । असफलताको रूपमा नेपालमै अपेक्षित अवसर, सम्मान र श्रोताको साथ पाउन नसक्नु उनले आफ्नो जीवनको सबैभन्दा ठूलो दुःख मानेका छन् । त्यसैले उनी भन्छन् – ‘नेपालमै मिहिनेत गरे पनि सम्मान पाउन नसक्नु नै मेरो जीवनको असफलता हो ।’

उनले पारिवारिक जिम्मेवारी पूरा गर्न जागिर गर्नुपरे पनि संगीत साधनाबाट कहिल्यै विमुख नभएको प्रष्ट पार्छन् । हस्पिटालिटी क्षेत्रमा काम गरिरहँदा पनि उनले हरेक बिहान र बेलुका समय निकालेर नियमित रियाज गरिरहेको बताउँछन् । संगीतप्रति उनको समर्पण, निष्ठा र साधना नै उनको वास्तविक परिचय हो ।
अन्तमा उनी भन्छन् – ‘मेरो जीवन संगीतमै समर्पित छ । कुनै दिन अवसर आए नेपालमै ठूला कार्यक्रम गरेर शास्त्रीय संगीतको महत्व नयाँ पुस्तामा रोप्ने मेरो सपना छ ।’ उनले शास्त्रीय संगीतलाई केवल पेशा होइन, आफ्नो जीवन र साधना मानेका छन् । त्यसैले उनी भन्छन् – ‘संगीत साधना नै मेरो धर्म हो, जीवनको आधार हो ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend