राम प्रसाद गैरे, (आरपी) ११ असार, काठमाडौं । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–९ ढिकुरा डेभामा जन्मिएका बशन्त राज भुसाल, समाजमा सेवाको भावना बोकेका एक मेहनती र दृढनिश्चयी पात्र हुन्। २०४० सालको बैशाख १५ गते रामप्रसाद भुसाल र लिलाकला भुसालको कोखबाट कान्छा छोराका रूपमा जन्मिएका उनले आफ्नो जीवनको प्रारम्भिक अध्याय स्वास्थ्य सेवामा समर्पित गरेका थिए। नेपालगञ्जको कटकुँइया स्वास्थ्य चौकीमा पाँच वर्ष अहेवको रूपमा काम गरेर अनुभव बटुलेका भुसालले त्यसपछि काठमाडौंका विभिन्न अस्पतालमा इनसथेसीया अपरेसन थेटरमा दश वर्ष सेवा गरे। तर, त्यसबेला उनले भोगेको आर्थिक सङ्घर्ष र दैनिक आवश्यकताहरू पूरा गर्न गरेको संघर्षले उनलाई गम्भीर आत्ममन्थनमा डुबायो।

“स्वास्थ्य क्षेत्रमा काम गरे पनि, नेपालको तलबले जीवन धान्नै मुस्किल छ,” उनी भन्छन्। यही सोचले प्रेरित गरेर उनले अहेवको जागिर छाडे र आत्मनिर्भर बन्ने संकल्पका साथ कुखुरा पालन व्यवसाय सुरु गरे। अहिले उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित पासीकोटमा रहेको आफ्नै फार्ममा एक हजार लोकल जातका कुखुरा पालिरहेका छन्। व्यावसायिक जीवनको यो नयाँ यात्रामा भुसालले अब करिब तीन महिना पूरा गर्न लागेका छन्। उनी भन्छन्, “आफ्नै व्यवसाय गर्नुको सन्तोष बेग्लै हुन्छ, अब म यो क्षेत्रमा रमाउन थालेको छु।”

भुसालका अनुसार, एक हजार लोकल कुखुरा पाल्न पाँच महिनासम्म ५ देखि ६ लाख रुपैयाँसम्म खर्च लाग्दछ। त्यसो गर्दा सुरुवातमै बैंकमा कम्तीमा ५ लाख नगद भण्डार हुनु आवश्यक हुन्छ भन्ने उनको अनुभव छ। व्यवसाय केही जोखिमपूर्ण भएकाले सुरुवाती महिनामा सानो चल्ला हुर्काउन कठिन हुने, केही मर्ने सम्भावनासमेत हुने उनी बताउँछन्। तर, यस्तो उतारचढावलाई उनले साहसका साथ सामना गरिरहेका छन्। पाँच महिनामा लोकल कुखुरा ३ किलोसम्मको तौलमा बिक्न सक्ने र प्रति किलो ७०० रुपैयाँको दरमा बजारमा बिक्री हुने उनको भनाइ छ। यदि ९०० कुखुरा मात्रै पनि विक्री गर्न सकिएमा ४ देखि ५ लाख रुपैयाँसम्म नाफा लिन सकिन्छ भन्ने उनको गणना छ।

स्वास्थ्यकर्मीको जीवन त्यागेर कृषि तथा पशुपालन क्षेत्रतर्फ अग्रसर भएका भुसालले आज आफ्नै पसिनाबाट भविष्य निर्माण गर्ने यात्रामा पाइला टेकेका छन्। उनले देखाएको साहस, आत्मनिर्भरता र परिश्रमले अरु युवाहरूलाई पनि जागिरको भरमा मात्र नबस्न, आफ्नै सीप र लगनशिलता प्रयोग गरेर उद्यमशील बन्ने प्रेरणा दिन सक्छ। उनी भन्छन्, “म जागिरमा भन्दा व्यवसायमा रमाएको छु।” बशन्त भुसालको यो रूपान्तरण केवल व्यक्तिगत निर्णय होइन, यो समग्र नेपाली युवाहरूको आत्मनिर्भर बन्ने चाहना र संभावनाको प्रतिबिम्ब हो।

आज जब नेपालका धेरै युवा विदेश जाने सपना देखिरहेका छन्, त्यही समय भुसालजस्ता युवाहरू आफ्नै माटोमा सम्भावना खोजिरहेका छन्, संघर्ष गरिरहेका छन् र आत्मनिर्भरताको साँचो बाटो कोर्दै छन्। राज्यले यस्ता उदाहरणीय प्रयासहरूलाई नीतिगत समर्थन र वित्तीय पहुँचको सहजता प्रदान गर्न सके, कुखुरा पालनजस्ता कृषि आधारित व्यवसायले मुलुकको ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय टेवा पुर्याउन सक्छ। बशन्त भुसालको कथा केवल एक जना व्यक्तिको यात्रामात्र होइन, यो नेपालमा सम्भावना खोजिरहेका हजारौं युवाको कथा हो, जो साँचिकै परिवर्तन आफैँबाट सुरु हुन्छ भन्नेमा विश्वास गर्छन्।
कुखुरा व्यवसायी बशन्त राज भुसालले उठाएको आवाज आजको नेपालले सुन्नैपर्ने सत्य हो। उनी मात्र एउटा व्यक्ति होइनन्, उनी हजारौं युवाहरूको प्रतीक हुन्—जो जागिरको झमेलाबाट बाहिर निस्केर आत्मनिर्भरताको बाटो रोज्दैछन्। उनका अनुसार, अबको नेपाललाई बास्ना होइन, पसिना चाहिएको छ। जो माटोसँग प्रेम गर्छ, जो खेतमा हलो जोत्छ, जो आफ्नै देशमा श्रमको मूल्य बुझ्छ—त्यस्ता युवाहरू नै देशको मेरुदण्ड हुन सक्छन्। उनले जुन व्यावसायिक मार्ग रोजे, त्यो आजको शिक्षा पाइसकेका, तर अवसरबाट वञ्चित युवाहरूका लागि प्रेरणाको स्रोत हो। नेपालका धेरै गाउँहरू अहिले रित्तिँदै गएका छन्। खेतबारी बाँझै छन्, हलो चलाउने मान्छे छैनन्, र उब्जनी घट्दो क्रममा छ। यस्तो अवस्थामा, बशन्त जस्ता युवाहरूले आफ्नो गाउँ, आफ्नो माटो, आफ्नै देशमै भविष्य देख्न थालेका छन् भने, त्यो देश निर्माणको एउटा बलियो संकेत हो।
उनले पासीकोटमा सुरु गरेको कुखुरा फार्म केवल एउटा व्यवसाय होइन, त्यो भविष्यप्रति उनले देखेको विश्वास हो। बिहान सबेरै उठेर कुखुराको स्याहारसुसार गर्नु, फार्म वरपरको सफाइ गर्नु, दानापानी व्यवस्थापन गर्नु—यी सबै कामहरू आजको पुस्ताका लागि नौला लाग्न सक्छन्। तर बशन्त भन्छन्, ‘पसिना नझारी कमाइ हुँदैन, अनि बिना संघर्ष इज्जत पाइँदैन।’ उनका अनुसार, विदेशको आकर्षणले नेपाली युवाहरूलाई लोभ्याइरहे पनि, साँचो अवसर आफ्नै देशभित्र लुकेको छ। उनका अनुसार, यदि युवाहरूको श्रम र लगनशीलता नेपालको बाँझो माटोमा पोखियो भने देशले खाद्य सुरक्षामा मात्र आत्मनिर्भरता हासिल गर्दैन, आर्थिक समृद्धिको ढोका पनि खुल्छ।
भुसालले अझै प्रष्टसँग देखाएका छन् कि नेपालमा समस्या छैन, समस्या बुझ्ने दृष्टिकोणको अभाव छ। गाउँका खेत बाँझो हुनु, परदेशी युवाको संख्या बढ्नु, र देशमा खाद्यान्नको अभाव हुनु—यी सबै कुराहरू परस्पर जोडिएका छन्। उनी भन्छन्, ‘हामीले गाउँलाई हेप्यौँ, खेतलाई हेप्यौँ, अनि पछि खान पाइएन भनेर रुन थाल्यौँ। अब समय आयो—गाउँ फर्किने, माटो समाउने र पसिना बगाउने।’ उनी स्पष्ट बताउँछन् कि पैसा नभएसम्म मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ। जसले लगानी गर्दैन, उसलाई समाजले सम्मान पनि गर्दैन। त्यसैले अब युवाहरूले बिदेश जाने सपना भन्दा आफ्नै देशमा संघर्ष गर्ने सपना देख्नुपर्छ। त्यो सपना कठिन होला, तर फलदायी हुन्छ।
उनको फार्मले अहिले खासै धेरै आम्दानी नदिएको भए पनि भोलिको लागि सम्भावनाको ढोका खोलेको छ। तीन महिनामै उनले व्यवसायमा उत्साह देखाएका छन्। जोखिम रहेको भए पनि, मिहिनेतलाई उनले डरभन्दा अगाडि राखेका छन्। साना चल्लाहरू हुर्काउनेदेखि बजारमा बिक्रीसम्मको प्रक्रिया सजिलो छैन, तर त्यसैले त व्यवसायी बन्ने आत्मबल चाहिन्छ। भुसाल भन्छन्, ‘एकचोटि सुरुवात गरेपछि डर हट्छ, अनि मन लाग्छ—यो काम मेरो हो।’ युवाहरूको मानसिकता परिवर्तन नभएसम्म नेपालले केवल नारा मात्रै पाउँछ, तर वास्तविक विकास हुँदैन। उनी जस्ता युवाहरूको खाँचो नेपाललाई आज भन्दा धेरै भोली परि आउँछ।
अन्ततः, भुसाल जस्ता मिहिनेती युवाहरूले मात्र नेपालको रित्तिएको गाउँ र बाँझिएको खेत फेरि हरियाली बनाउने सक्नेछन्। यस्ता आत्मनिर्भर र कर्मशील युवाहरूलाई सल्लाह होइन, समर्थन चाहिन्छ। तिनका अनुभवलाई अरूले सुनून्, तिनका कथाबाट प्रेरणा लिऊन्, अनि देशको माटोबाटै सम्भावना देख्ने आँखा खोलून्। त्यसपछि मात्र हामी भन्न सक्छौं, देश अब सही बाटोमा अघि बढ्दैछ। बशन्त भुसालको प्रयास र सोच हामी सबैका लागि एक चेतावनी हो—यदि हामीले अझै पनि आफ्नै देशको माटोमा भरोसा गरेनौँ भने, भविष्य फेरि पनि परदेशी नै बन्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend