सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ठेकेदारको मनोमानीमाथि कडाइ: भण्डारीको कडा नीति

ठेकेदारको मनोमानीमाथि कडाइ: भण्डारीको कडा नीति

१० असार ,काठमाडौँ । काठमाडौंका सडक पूर्वाधारमा पछिल्लो समय देखिएको उल्लेखनीय सुधारको पछाडि डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीको कुशल नेतृत्वको योगदानलाई विशेष रूपमा सम्झन सकिन्छ।   भण्डारी २०५३ सालमा निजामती सेवामा प्रवेश गरेदेखि हालसम्म देशका विभिन्न जिल्लामा डिभिजन प्रमुखको रूपमा काम गर्दै आएका अनुभवी इन्जिनियर हुन्। जुम्ला, पाल्पा, बागलुङ, रसुवा, नुवाकोट, पर्वत, लहानजस्ता ठाउँमा कार्यरत रहेर उनले आफ्नो सीप र इमान्दारिताको पहिचान बनाएका छन्। २०७९ साल भदौ २६ मा डिभिजन सडक कार्यालय काठमाडौंको नेतृत्व सम्हालेयता उनले राजधानीको सडक व्यवस्थापनमा उल्लेखनीय परिवर्तन ल्याएका छन्।

भण्डारीको नेतृत्वमा काठमाडौंमा ‘खाल्डाखुल्डीमुक्त अभियान’ अन्तर्गत १५ हजार वर्गमिटर सडक मर्मत कार्य सम्पन्न भएको छ। ११,२४६.२३ वर्गमिटर क्षेत्रमा सडक टालिएको, २२.४ किलोमिटर क्षेत्रमा ओभरले भर्ने कार्य र ४,५०० वर्गमिटरमा रंगरोगनको काम सम्पन्न गरिएको छ। पेप्सीकोला, सीतापाइला र टेकु पचलीका सरकारी जग्गा संरक्षण गरी कम्पाउन्ड वाल निर्माण गरिएको छ। उनका पहलमा डिभिजन प्रमुखको कार्यकक्ष समेत अशक्तमैत्री बनाइएको छ, जसले समावेशी पूर्वाधार विकासप्रतिको प्रतिबद्धता देखाउँछ।

सडक निर्माणको गुणस्तर सुनिश्चित गर्न भण्डारीले निर्माण सामग्रीमा कडाइ, ठेकेदारहरूमाथि निगरानी, र थर्ड पार्टी परीक्षण अनिवार्य बनाएका छन्। अब गुणस्तरहीन वा समयमै काम नगर्ने ठेकेदारहरूमाथि कारबाही हुने नीति अडानका साथ कार्यान्वयनमा आएको छ। अहिलेसम्म चार ठेक्का खारेज भइसकेका छन् भने केही ठेकेदारहरू कालोसूचीमा परिसकेका छन्। नागरिक गुनासोलाई उच्च प्राथमिकता दिँदै उनले नागरिक एप, फोन र प्रत्यक्ष सम्पर्कमार्फत आएका गुनासोलाई तत्काल सम्बोधन गर्ने अभ्यासलाई संस्थागत बनाएका छन्। सडक योजनाहरू पारदर्शिताका साथ अघि बढाउन सूचना बोर्ड टाँस्ने प्रणाली नियमित गरिएको छ।

भण्डारीको कार्यशैलीमा सबै निकायसँग पूर्वसमन्वय गर्ने परिपाटी प्रभावकारी देखिन्छ। खानेपानी, विद्युत्, टेलिकमजस्ता सेवाप्रदायक निकायहरूसँग समन्वय गरेर दोहोरो खनाइ र दोहोरिएको खर्च कम गरिएको छ। हाल डिभिजन सडक कार्यालयका प्रमुख योजना बालाजु–बाइपास विस्तार, थापाथली–कुपण्डोल सुधार र महाराजगञ्ज–बुढानीलकण्ठ सडक कालोपत्रे हुन्। आगामी दिनमा पुराना सडकको दीर्घकालीन मर्मत, स्मार्ट सडक अवधारणा, साइनेज, डिजिटल सूचना बोर्ड र जतनिकासी सुधारजस्ता योजनामा प्राथमिकता दिइने बताइएको छ।

सडक पूर्वाधारलाई सबैको पहुँचमा पुर्‍याउन दरबारमार्ग, ठमेल, र बसन्तपुर क्षेत्रमा अशक्तमैत्री पूर्वाधार, साइकल लेन, फुटपाथ, ब्रेल बोर्ड र जेब्रा क्रसिङजस्ता संरचना निर्माण गरिएको छ। आगामी योजनामा जनमुखी, समावेशी र दिगो पूर्वाधार निर्माण, स्मार्ट ट्राफिक प्रणाली, पारदर्शी कार्यशैली र समन्वयात्मक सेवा प्रवाहमा जोड दिइनेछ। भण्डारी भन्छन्, “सडक सेवा नागरिकको आधारभूत हक हो, त्यसैले हामी इमान्दारीपूर्वक, पारदर्शी ढंगले र समन्वयमा काम गरिरहेका छौं।”

उनको इमान्दार प्रयास, दूरदर्शी योजना, सशक्त समन्वय र गुणस्तरीय कार्यप्रणालीले काठमाडौंका सडक पूर्वाधारमा गति र सुधार दुवै ल्याएको छ। भण्डारीको नेतृत्व आजका अन्य सरकारी निकायहरूका लागि प्रेरणा बन्न पुगेको छ। राजधानीको सडक सुधार अभियानलाई जनताको हितमा पुर्‍याउने उनको संकल्पले नेपालमा सार्वजनिक सेवा क्षेत्र पनि इमान्दार, प्रभावकारी र जनपक्षीय बन्न सक्छ भन्ने सन्देश दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend