सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब प्रश्न उठ्छ— अब बन्ने नयाँ सरकारले के गर्छ ?

अब प्रश्न उठ्छ— अब बन्ने नयाँ सरकारले के गर्छ ?

तारानाथ लुइटेल,

काठमाडौं । नेपालको पछिल्लो निर्वाचन परिणाम केवल सत्ताको परिवर्तन मात्र होइन, यो जनताको गहिरो पीडा, आक्रोश र निराशाको विस्फोट हो। वर्षौंसम्म सहेर बसेका नागरिकले अन्ततः मतपेटिकामार्फत आफ्नो निर्णय सुनाएका छन्। यो परिणामले स्पष्ट देखाएको छ कि जनताले अब खोक्रा भाषण होइन, व्यवहारमा परिवर्तन चाहेका छन्।

यो निर्वाचनमा एउटा रोचक तर गम्भीर पक्ष के देखियो भने विचारधाराको सीमारेखा समेत धमिलियो। हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेका राष्ट्रवादीहरूदेखि गणतन्त्रमा आस्था राख्ने नागरिकसम्मले एउटै दल—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिए। यसले एउटा गहिरो सन्देश दिन्छ । जनता अब विचारधाराभन्दा पनि परिणाम खोजिरहेका छन्। उनीहरूलाई स्थिरता, रोजगारी, सुशासन र विश्वास चाहिएको छ।

पुराना राजनीतिक दलहरूले वर्षौंसम्म जनतालाई समृद्धि, विकास, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता सपना देखाए । तर ती सपनाहरू व्यवहारमा कहिल्यै परिणत भएनन्। चुनावका बेला गरिएका बाचा केवल भाषणमै सीमित भए। जनताले विश्वास गरे, फेरि विश्वास गरे, तर अन्ततः धोका पाए। यही निरन्तरको धोका र असफलताले जनताको धैर्य टुटायो र मतमार्फत सजाय दियो।

नेपालमा रहेका उद्योग, कलकारखाना, उत्पादनमूलक क्षेत्रहरू एकपछि अर्को गर्दै बन्द भए। कतिपय निजीकरणका नाममा कौडीको भाउमा बेचिए, कतिपय राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका कारण धराशायी भए। यसले देशको आर्थिक मेरुदण्ड कमजोर बनायो। उद्योग बन्द भएपछि रोजगारीको अवसर घट्यो, र लाखौं युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भए।

आजको यथार्थ कडा छ। नेपालका गाउँघरहरू रित्तिँदै गएका छन्। कहिल्यै चहलपहलले भरिएका बस्तीहरू सुनसान भएका छन्। खेतबारी बाँझो छन्, किनभने खेती गर्ने युवा छैनन्। आमाबुबा गाउँमा एक्लै छन्, छोराछोरी खाडी मुलुक, मलेसिया, कोरिया, जापानतिर पसिना बगाइरहेका छन्। यो केवल आर्थिक समस्या होइन, यो सामाजिक विघटन पनि हो।

कृषि प्रधान देश भनिएको नेपालमा आज कृषि नै संकटमा छ। नीतिगत स्पष्टता छैन, आधुनिक प्रविधिको अभाव छ, किसानलाई प्रोत्साहन छैन। परिणामतः उत्पादन घट्दै गएको छ र देश आयातमा निर्भर हुँदै गएको छ। यसले राष्ट्रिय अर्थतन्त्रलाई थप कमजोर बनाएको छ।

अब प्रश्न उठ्छ— अब बन्ने नयाँ सरकारले के गर्छ ?

नयाँ सरकारमाथि जनताको अपेक्षा असाधारण छ। यो अपेक्षा केवल नयाँ अनुहारको कारण होइन, बरु पुराना असफलताबाट मुक्त हुने चाहनाको परिणाम हो। अब सरकारको पहिलो दायित्व भनेको बन्द भएका उद्योगहरूको पुनः सञ्चालन हो। उद्योगहरू पुनः सञ्चालनमा आए भने मात्र रोजगारी सिर्जना हुन्छ, अर्थतन्त्र चलायमान हुन्छ र युवाहरूलाई देशमै रोक्न सकिन्छ।

त्यसैगरी, कृषि क्षेत्रमा क्रान्तिकारी सुधार आवश्यक छ। किसानलाई आधुनिक प्रविधि, सहुलियत ऋण, बजार सुनिश्चितता र उचित मूल्य दिन सके मात्र कृषि पुनर्जीवित हुन सक्छ। गाउँमा पुनः जीवन फर्काउन कृषि र स्थानीय उद्योगलाई जोड दिनु अपरिहार्य छ।

सरकारले वैदेशिक रोजगारीलाई विकल्पको रूपमा होइन, बाध्यताको रूपमा हेर्नुपर्छ। जबसम्म देशभित्र रोजगारी सिर्जना हुँदैन, तबसम्म युवाहरू विदेशिनु रोकिन्न। त्यसैले औद्योगिकीकरण, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी बढाउनु जरुरी छ।

तर केवल नीति बनाएर मात्र हुँदैन, कार्यान्वयन सबैभन्दा ठूलो चुनौती हो। विगतका सरकारले पनि धेरै नीति बनाए, तर कार्यान्वयनमा चुके। यही कमजोरी दोहोरिनु हुँदैन। पारदर्शिता, जवाफदेहिता र सुशासन बिना कुनै पनि योजना सफल हुँदैन।

जनताको विश्वास जित्न सजिलो छैन, तर गुमाउन धेरै सजिलो हुन्छ। अहिले जनताले दिएको मत विश्वासको मत पनि हो र चेतावनी पनि। यदि नयाँ सरकारले पनि पुरानै बाटो समात्यो भने जनताको आक्रोश अझ तीव्र रूपमा विस्फोट हुन सक्छ।

यो समय अवसर पनि हो र परीक्षा पनि। अवसर—देशलाई नयाँ दिशामा लैजाने। परीक्षा—जनताको अपेक्षा पूरा गर्ने। यो जनमतले एउटा स्पष्ट सन्देश दिएको छ । अब देश भाषणले होइन, कामले चल्नुपर्छ। जनता जागिसकेका छन्। उनीहरू अब नारा होइन, परिणाम हेर्न चाहन्छन्। नयाँ सरकारले यदि यो सन्देश बुझ्न सकेन भने इतिहास फेरि दोहोरिनेछ । लेखकः प्रजातान्त्रिक पार्टी नेपालका केन्द्रिय अध्यक्ष हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend