भक्तपुर । नेपालले राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप क्षयरोगका निवारणको निम्ति सन् २०२१/२२ देखि २०२५/२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेको भएपनी अझै ४५% बिरामीहरु उपचारको पहुँचमा रहेका छैनन् । त्यस्तै पछिल्लो समय क्षयरोगका केसहरु बढी आउनु र औषधि प्रतिरोधी क्षयरोगको समस्या क्षयरोग निवारणको मुख्य चुनौती रहेको बताइएको छ।
विश्व क्षयरोग दिवस (२४ मार्च) को अवसरमा बिहीवार (८ चैत) आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (ठिमी ,भक्तपुर) का निर्देशक डा. प्रज्वल श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

निर्देशक श्रेष्ठका अनुसार जनस्वास्थ्य, सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रूपमा रहनु नेपालका लागि चिन्ताको बिषय हो। विश्व स्वास्थ्य संगठनका अनुसार आ. व. २०७९/२०८० मा नेपालमा ७०,००० नयाँ क्षयरोगका बिरामीहरु थपिने र १८,००० व्यक्तिहरुको मृत्यु हुने अनुमान गरिएको थियो। सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले कुल ३७,४४७ क्षयरोगका बिरामीहरू दर्ता गरेको छ, जसमा ३५% महिला र ६५% पुरुष छन्। यी बिरामीहरु मध्ये ७२% फोक्सोका बिरामीहरु र २८% फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु थिए।
आ. व. २०७९/२०८० मा भौगोलिक रूपमा, तराई क्षेत्रमा ६०.०% क्षयरोगका बिरामीहरू दर्ता गरिएका थिए भने प्रादेशिक स्तरमा ६८.०% बिरामीहरु मधेस, वाग्मती र लुम्बिनी प्रदेश गरी यी ३ प्रदेशहरुमा दर्ता भएका थिए। साथै उक्त अवधिमा क्षयरोग रोकथाम उपचार (TB Preventive Treatment) कार्यक्रम लागु भएका ४२ जिल्लाहरुमा क्षयरोग बिरामीहरुको घरपरिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३६५८ योग्य बालबालिकाहरूले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए।
विश्वमा औषधि प्रतिरोधी क्षयरोग (Drug Resistant Tuberculosis) को उच्च भार भएका ३० देशहरु मध्ये नेपाल पनि पर्नु चिन्ताको विषय हो। सोही आ.व. मा २,९०० व्यक्तिहरुमा औषधि प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएकोमा ६९३ बिरामीहरू निदान गरिएका थिए, जसमध्ये ५४६ बिरामीहरु उपचारको दायरामा आएका थिए।
आ. व. २०७९/२०८० मा Drug Susceptible क्षयरोगका बिरामीहरुको उपचार सफलता दर (Treatment Success Rate) ९२.४% थियो। त्यसैगरी औषधी प्रतिरोधी क्षयरोग (Drug Resistant) का बिरामीहरुको उपचार सफलता दर ८२.०% रहेको थियो, जुन तुलनात्मक रुपमा विश्वका अन्य देशहरुमध्ये उच्च हो। नेपालमा क्षयरोगको उच्च जोखिम समूहमा कुपोषित व्यक्तिहरु, एच.आई.भि संक्रमितहरु, मधुमेह भएका व्यक्तिहरु, धुम्रपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरु पर्दछन्।
नेपालले क्षयरोग रोकथाम, निदान र उपचारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले, साझेदार र सरोकारवालाहरूसँगको सहकार्यमा क्षयरोगका सेवाहरूमा पहुँच विस्तार गर्न, निदान क्षमताहरू सुदृढ गर्न र उपचार परिणामहरू सुधार गर्न अथक प्रयास गर्दै आएको छ। हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीयतहहरुको नेतृत्व तथा अपनत्व विकास गरी क्षयरोग अन्त्यको प्रयासहरुलाई दिगो रुपमा गति दिने उद्देश्यले क्षयरोग मुक्त नेपाल अभियान को शुरुवात गरेको छ। यस आ.व. सम्म देशैभरिबाट छानिएका १२५ स्थानीय तहहरुमा यस अभियानको कार्यान्वयन गरी क्षयरोगको पहिचान, निदान र उपचार सेवाहरुको गुणस्तरमा सुधार गर्नुका साथै क्षयरोग अन्त्यको प्रयासमा समुदायको संलग्नता बढाउने कार्यहरु गर्दै आएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमले क्षयरोग मुक्त नेपाल अभियान क्रमश सबै ७५३ स्थानीय तहहरुमा बिस्तार गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोग बिरुद्धको लडाईलाई साकार पार्नका निम्ति सन् २०२१/२२ देखि २०२५/२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ। यो महत्वाकांक्षी योजनाले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने अटल समर्पणलाई प्रतिबिम्बित गर्दछ। राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरि नेपालले नयाँ क्षयरोग बिरामी दर र मृत्युदर घटाउने, सन् २०३५ सम्ममा क्षयरोगको महामारीको अन्त्य गर्ने, सन् सन् २०५० सम्ममा क्षयरोगको निवारण गर्ने र क्षयरोग निदान उपचारमा लाग्ने अधिक आर्थिक व्ययभार (Catastrophic Cost) लाई शून्यमा झार्ने विशेष लक्ष्य राखेको छ। यस राष्ट्रिय रणनीतिक योजनामा उल्लिखित लक्ष्यहरूले दिगो विकासका लक्ष्यहरू (Sustainable Development Goals) र क्षयरोग अन्त्यका लक्ष्यहरू (END TB Strategy) प्राप्त गर्न योगदान दिने छन् भन्ने विश्वास गरिएको छ।
त्यसैगरी नेपालमा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि बस्ने तथ्यलाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र क्षयरोग र गरिबी बीचको अन्तरसम्बन्धलाई मान्यता दिँदै सामाजिक सुरक्षाका उपायहरू कायम राख्खे आफ्नो प्रतिबद्धतामा अडिग छ।United Nations High-Level Meeting on TB (UNHLM), End TB Strategy २ UN Sustainable Development Goals लगायतका अन्तर्राष्ट्रिय घोषणा र ऐक्यबद्दताहरु प्रति नेपाल सरकार प्रतिबद्ध छ र सोहि दिशामा आफ्ना कार्यक्रमहरु अगाडी बढाएको छ। साझेदारी र सामूहिक कार्यहरु गर्दै नेपाल क्षयरोग निवारण अभियानमा रहेको उनले बताए ।
हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसमा जनस्वास्थ्य समस्याको बारेमा सचेतना जगाउने अभियानका साथ मनाइन्छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२४ लाई ‘होः हामी क्षयरोग अन्त्य गर्छौ!’ (‘Yes! We can End TB!”) भन्ने मूल नाराका साथ २२ मार्च, २०२४ का दिन मनाउने घोषणा गरेको छ। आइतबार फागु पर्व परेको हुनाले शुक्रबार नेपालमा शुक्रबार नै क्षयरोग दिवस मनाउन लागिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend