सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्तो छ समावेशी समाजवादी पार्टीको चुनावी घोषापत्र

यस्तो छ समावेशी समाजवादी पार्टीको चुनावी घोषापत्र

समावेशी समाजवादी पार्टी
निर्वाचन घोषणापत्र २०८२
समावेशी न्याय, सहभागी लोकतन्त्र र प्रकृति-केन्द्रित सभ्यताका लागि

किन समावेशी समाजवादी पार्टी फरक छ ?
प्रतिनिधित्वको भ्रमबाट सहभागिताको राजनीतिको स्थापना

काठमाडौं । नेपालमा दल फेरिए, सरकार बदलिए, संविधान आयो र गयो। तर सत्ताको मूल चरित्र फेरिएन। सत्ता अझै पनि पुरुष–केन्द्रित, सहर–केन्द्रित, पैसा–केन्द्रित र मानव–केन्द्रित नै रह्यो। यसले बहुसंख्यक नागरिकलाई सधैं किनारामा राख्यो—लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, बालबालिका, जेष्ठ नागरिक, ग्रामीण समुदाय र प्रकृतिलाई समेत।

यही यथास्थितिलाई भङ्ग गर्न उभिएको छ—समावेशी समाजवादी पार्टी। यो केवल अर्को दल होइन; यो राजनीतिलाई हेर्ने, बुझ्ने र अभ्यास गर्ने आँखै बदल्ने वैकल्पिक सभ्यताको प्रस्ताव हो।

१. गाउँ सार्वभौम हुन्छ: सहभागितामूलक, प्रत्यक्ष र जीवन्त लोकतन्त्र

यस दर्शनको सबैभन्दा क्रान्तिकारी पक्ष भनेको गाउँलाई सार्वभौम निकायको रूपमा स्थापना गर्नु हो। यो सामान्य विकेन्द्रीकरण होइन; यो केन्द्रको उपनिवेशबाट मुक्त नयाँ राजनीतिक संरचना हो।

क. सार्वभौम गाउँमा प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र

आज कर गाउँबाट उठ्छ, तर निर्णय केन्द्रमा हुन्छ। समावेशी समाजवादी दर्शनमा गाउँमा लोकतन्त्र सहभागितामूलक, प्रत्यक्ष र जीवन्त हुन्छ। गाउँका नागरिक आफैं निर्णयकर्ता हुन्छन्, प्रतिनिधि मात्र चुन्ने होइन।

मुख्य अधिकारहरू
जनताको निर्णय: शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार, वातावरण लगायत आफ्नै जीवनसँग जोडिएका विषयमा प्रत्यक्ष निर्णय।
नीतिगत नियन्त्रण: स्थानीय नीति निर्माण, कार्यान्वयन र अनुगमन।
स्थानीय अर्थतन्त्र: हरित रोजगारी, सहकारी, सामाजिक उद्यम, स्थानीय उत्पादन र बजार प्रवर्द्धन।
प्राकृतिक अधिकार: सामुदायिक वन, नदी, भूमि, जैविक विविधताको संरक्षण र व्यवस्थापन।

यसले जनतालाई निष्क्रिय मतदाता होइन, हरेक नीतिको सक्रिय निर्माता बनाउँछ।

ख. सङ्घीयताको नयाँ खाका: शक्तिको न्यूनतम केन्द्रीयकरण

राजनीतिक शक्ति गाउँबाट केन्द्रतर्फ कम हुँदै जाने गरी नयाँ सङ्घीय संरचना प्रस्ताव गरिन्छ।

सार्वभौम गाउँ
लोकतन्त्रको आधारभूत इकाइ। प्रत्यक्ष सहभागिता लागू।

गाउँहरूको महासङ्घ
हालका प्रदेशसरह, तर सीमित अधिकारसहित: गाउँहरूबीच समन्वय, ठूला पूर्वाधार, साझा पर्यावरणीय मुद्दा।

महासङ्घहरूको राष्ट्रिय सङ्घ
न्यूनतम शक्ति: मुद्रा, सेना, परराष्ट्र नीति, राष्ट्रिय समन्वय, ठूला पर्यावरणीय सङ्कट व्यवस्थापन।

दार्शनिक लक्ष्य स्पष्ट छ—राष्ट्रिय सरकारलाई कमजोर बनाउनु, ताकि शक्ति र निर्णय जनताको हातबाट टाढा नजाओस्।

ग. तरल मतदानको प्रयोग

गाउँभन्दा माथिल्लो तहमा तरल लोकतन्त्र लागू हुन्छ। नागरिकले विषयअनुसार आफ्नो मत कुनै विश्वासिलो व्यक्ति वा विशेषज्ञलाई दिन सक्छन्। आवश्यक परे मत तुरुन्त फिर्ता लिन सक्छन्। यसले शक्ति केन्द्रिकरण घटाउँछ, भ्रष्टाचारको जोखिम कम गर्छ र प्रतिनिधिमूलक लोकतन्त्रलाई चलायमान बनाउँछ।

२. लोकतन्त्रको पुनर्संरचना: प्रतिनिधित्वको धोकाबाट सहभागिताको शक्ति

क. तरल लोकतन्त्र: शक्ति जम्ने होइन, बग्ने व्यवस्था

परम्परागत लोकतन्त्रमा प्रतिनिधि एकपटक चुनिएपछि जनताबाट टाढा हुन्छन्। नागरिक पाँच वर्ष मौन दर्शक बन्छन्। समावेशी समाजवादीको नवीनता यसमा छ कि नागरिकले विषयअनुसार प्रतिनिधित्व दिन वा फिर्ता लिन सक्छन्, सबै विषय एउटै व्यक्तिलाई होइन, विशेषज्ञताका आधारमा शक्ति हस्तान्तरण गर्न सकिन्छ, र प्रतिनिधिले भ्रष्टाचार गरे वा जनभावनाविपरीत निर्णय गरे तत्काल पदबाट हटाउन सकिने व्यवस्था हुन्छ।

ख. साइबरनेटिक लोकतन्त्र: चलायमान, सिक्ने र सुधार्ने शासन

परम्परागत राज्य प्रणाली स्थिर हुन्छ। समावेशी समाजवादी शासन साइबरनेटिक हुन्छ, निरन्तर प्रतिक्रिया प्रणालीमा आधारित। नीति लागू भएपछि त्यसको सामाजिक, आर्थिक, लैङ्गिक र क्षेत्रीय प्रभाव तथ्याङ्कमार्फत मापन गरिन्छ। नागरिकले डिजिटल प्लेटफर्म, गाउँ सभा वा सामुदायिक फोरममार्फत निरन्तर प्रतिक्रिया दिन सक्छन्। यहाँ नागरिक मतदाता मात्र होइनन्, निरन्तर सह–नीति निर्माता हुन्छन्।

३. अर्थशास्त्रको पुनर्परिभाषा: GDP होइन, करुणा र प्रकृति केन्द्रित विकास

क. सकल करुणा उत्पादन (GCP)

GDP ले प्रकृतिको विनाश, महिलाको अवैतनिक हेरचाह श्रम, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको मूल्य गणना गर्दैन। समावेशी समाजवादी प्रस्ताव अनुसार सफलताको मापन सकल करुणा उत्पादनबाट गरिनुपर्छ।

GCP का मुख्य सूचकहरू
सामाजिक न्याय, सुरक्षा र सम्मान।
लैङ्गिक समानता।
मानसिक स्वास्थ्य र सामुदायिक एकता।
पारिस्थितिक कल्याण: नदी, वन, पर्वत, जैविक विविधताको अवस्था।

यसले करुणा, संरचनागत न्याय र पर्यावरणीय जिम्मेवारीलाई राज्यको मूल दायित्व बनाउँछ।

ख. प्रकृति केन्द्रितता: विकासको नयाँ केन्द्र

परम्परागत विकासले प्रकृतिलाई मानव उपभोगका लागि मात्र बनेको स्रोत मान्यो, जसले आजको जलवायु सङ्कट जन्मायो। समावेशी समाजवादी दर्शनमा मानव प्रकृतिको मालिक होइन, संरक्षक हो। नीति निर्माणमा जलवायु न्याय, जैविक विविधता र भावी पुस्ताको अधिकार केन्द्रमा राखिन्छ। प्रकृति केन्द्रित विकास बिना विकास अधूरो मानिन्छ।

४. नेतृत्वको रूपान्तरण: सीमान्त अनुभव र मातृसत्तात्मक राजनीति

क. नेतृत्वमा सीमान्त अनुभवको केन्द्रीयता

परम्परागत राजनीतिमा सक्षम भनिने, पुरुष, उच्च जात र सहर–केन्द्रित वर्गको वर्चस्व रह्यो। समावेशी समाजवादी पार्टीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, ग्रामीण समुदाय, युवा र वृद्धका जीवनअनुभव स्वयं नेतृत्व क्षमताको आधार हुन्छन्। सीमान्त अनुभव कमजोरी होइन, राजनीतिक बुद्धिमत्ताको स्रोत हो।

ख. मातृसत्तात्मक राजनीति

हाम्रो राजनीति प्रभुत्व होइन, करुणामा आधारित हुन्छ। प्रतिस्पर्धा होइन, सहकार्यमा आधारित हुन्छ। दण्ड होइन, हेरचाहमा आधारित हुन्छ। युद्ध होइन, जीवनको रक्षा र पुनर्स्थापनामा आधारित हुन्छ। मातृसत्तात्मक राजनीति भन्नाले महिला मात्र शासन गर्ने होइन, हेरचाह, करुणा, सहअस्तित्व र पुनर्स्थापनालाई राजनीति र राज्यको केन्द्रमा राख्ने सभ्यता हो।

५. लैङ्गिक, यौनिक र सामाजिक न्यायप्रति स्पष्ट प्रतिबद्धता

हामी प्रतिबद्ध छौं कि लैङ्गिक पहिचान र यौनिक अभिमुखिकरणका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गरिनेछ। नागरिकता, पासपोर्ट, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, विवाह, परिवार, सम्पत्ति र उत्तराधिकार लगायत सबै क्षेत्रमा समान पहुँच र मर्यादा सुनिश्चित गरिनेछ। अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य पूर्वाधार, सहायक प्रविधि, समावेशी शिक्षा र सम्मानजनक रोजगारी कानुनी रूपमा सुनिश्चित गरिनेछ। दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायका ऐतिहासिक उत्पीडनलाई सम्बोधन गर्न विशेष संरचनात्मक सुधार कार्यक्रम लागू गरिनेछ।

६. अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धताको पूर्ण कार्यान्वयन

नेपालले हस्ताक्षर गरेका योग्याकर्ता सिद्धान्त, अपाङ्गता अधिकार महासन्धि, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, महिला र बालबालिकाको अधिकारसम्बन्धी महासन्धिहरू लगायत सबै मानव अधिकार महासन्धिहरूको पूर्ण कार्यान्वयन हाम्रो प्रतिबद्धता हो। यसका लागि कानुनी सुधार, संस्थागत पुनर्संरचना, बजेट प्राथमिकता र संसदमा निगरानी संयन्त्र स्थापना गरिनेछ।

७. स्वच्छ शहर, हरित रोजगारी र पर्यावरणीय न्याय

स्वच्छ, सुरक्षित र समावेशी शहरहरू निर्माण गरिनेछ। फोहोर व्यवस्थापन, पुनःप्रयोग र स्वच्छ ऊर्जा प्रणाली विस्तार गरिनेछ। हरित सार्वजनिक यातायात, पैदल र साइकलमैत्री शहर योजना लागू गरिनेछ। नवीकरणीय ऊर्जा, जैविक कृषि, वातावरणीय पर्यटन, वन संरक्षण र पुनःचक्रण उद्योगमार्फत हरित रोजगारी सिर्जना गरिनेछ।

८. भ्रष्टाचार नियन्त्रणका ठोस कदमहरू

शून्य सहनशीलता नीति लागू गरिनेछ। सबै निर्वाचित प्रतिनिधिका लागि सम्पत्ति विवरण सार्वजनिक गरिनेछ। सार्वजनिक खरिदमा डिजिटल ट्र्याकिङ प्रणाली लागू गरिनेछ। सूचनादाताको संरक्षण सुनिश्चित गरिनेछ। अख्तियार, अदालत र महालेखा परीक्षकलाई राजनीतिक हस्तक्षेपमुक्त र सुदृढ बनाइनेछ।

९. सहभागी लोकतन्त्र

नीति निर्माण, बजेट, योजना, अनुगमन र मूल्यांकनमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिनेछ। नागरिक सभा, सामुदायिक सुनुवाइ, सामाजिक अडिट र सहभागी बजेटिङ प्रणाली लागू गरिनेछ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिवासी जनजाति, युवा र वृद्धको सहभागिता संरचनागत रूपमा सुनिश्चित गरिनेछ।

हाम्रो वाचा

हामी वाचा गर्छौं कि राजनीति सेवा हुनेछ, सौदा होइन। शक्ति जिम्मेवारी हुनेछ, स्वार्थ होइन। विकास सबैका लागि हुनेछ, केहीका लागि होइन। लोकतन्त्र आवाज मात्र होइन, अधिकार, अवसर र सम्मान पनि हुनेछ।

समावेशी समाजवादी पार्टी
समावेशी नेपाल, न्यायपूर्ण समाज, हरित भविष्य र सहभागी लोकतन्त्रका लागि।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend