काठमाडौं ५ फागुन । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरेको छ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७४र०७९ को दोस्रो त्रैमास लक्षित गरेर २०७८ पुस २१ देखि २७ सम्म १७ सहरमा अवस्थित बजार क्षेत्रमा सर्वेक्षण गरेको थियो । ७२० जनामा गरिएको सर्वेक्षणमा ९१.९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि हुने अनुमान गरेका छन् । त्यस्तै ९७.१ प्रतिशतले आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका छन्।
सरकारले चालू आर्थिक वर्षको बजेटमा तथा राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशतभन्दा तल राख्ने लक्ष्य लिएको मुद्रास्फीति पाँचौं महिनामा ७.११ प्रतिशत तथा छैटौं महिनामा ५.६५ प्रतिशत रहेको थियो । तर, सर्वेक्षणको नतिजाले आगामी तीन महिना ८ प्रतिशतको सरदर रहने जनाएको छ।
यस्तै, सर्वेक्षणले तीन महिनामा दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुधजन्य पदार्थ, घिउ, तेल, पेय पदार्थ, सुर्तीजन्य पदार्थ, होटल, रेष्टुरेन्ट र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमा भन्दा मूल्य वृद्धि कमी आउने वा तत्कालीन मूल्य स्थिर रहने संकेत गरेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend