गौर १ फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएका छन् ।
आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिए ।
परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाई छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ ।‘देशबाट निरंकुश राजतन्त्र र एकात्मक राज्य प्रणालीको अन्त्य गरी मुलुकमा संघीयता र गणतन्त्र स्थापना गर्न सफल महान जनयुद्ध हजारौं वीर नेपाली सपूत योद्धाहरुले आहुती दिएर पूरा गरेका हुन् । जनयुद्ध नेपालको मात्र नभई सिंगो विश्वकै कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण हिस्सा हो ।’ नेता साहले भने, ‘तर आज तपाईहरुले हेर्न सक्नुहुन्छ, जनयुद्धको उपलब्धि प्रचण्डको लागि सत्तामा पुग्ने भर्र्याङ् मात्र बनेको छ ।
शहिदको रगतको अपमान गरेर कम्युनिष्ट आन्दोलनको मजाक उडाउदै जनयुद्धको सपना कांग्रेसको नेतृत्वमा पूरा गर्छु भन्ने प्रचण्ड लाल गद्दार हुन् । जनयुद्धको उपलब्धि कुर्सीसँग साट्ने प्रचण्डले आफ्नो मुखबाट जनयुद्ध शब्द उच्चारण गर्ने अधिकार छैन ।’नेता साहले रौतहटका प्रथम जनयुद्ध शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे ।फतुवा विजयपुर नगरपालिकाकि उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend