काठमाण्डौं २ माघ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन । उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे ।
उनले भने, ‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो, तर उहाँहरू आँफैबीच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाईको मतलाई अपमान गर्नुभयो, उहाँहरूकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । कांग्रेस सरकारमा आउनुपुर्व संवैधानिक निकाय र संसदीय पद्धती ध्वस्त थियो । तत्कालिन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो, राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ । यसले अहिले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याएको छ ।’
उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाईएको भएपनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । उनले भने, ‘अहिले गठबन्धनको सरकारले राम्रो काम गर्यो । संविधानलाई सही ट्रयाकमा ल्याउने काम भएको छ। हिजो सरकारमा हुँदा केपी ओलीले ०७५ सालको मंसिरमै रेलको टिकट किन्न भन्नुभयो, पानीजहाजको कार्यालय खोल्नुभयो, तर तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हास्ने काम त गरियो, तर उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’
उनले आफूहरूको सरकारको नेतृत्वमा आउनेबित्तिकै पदमुक्त भएका सांसदहरूको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । उनले भने, ‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भका राष्ट्रियसभाका सांसदहरूको निर्वाचनको तयारी गर्दैछ। यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ ।’
उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । नले भने,‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । पैसा सैसा थिएन, एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो । मुलुकमा खोप थिएन ।
अहिले १ करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप, खोप खोपमात्रै भनेको छ। माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ। सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ, सोहीअनुसार काम गरिरहेको छ। यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रुपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरी) का विरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ ।
त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने,‘हिजोका दिनमा कनिका छरेरजस्तो बजेट दुरुपयोग गर्न दिँदैनौं । जनतालाई भ्रमको खेति गरिएको थियो, अहिले यो सरकारले सही ट्रयाकमा ल्याएको छ ।’ उनले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे ।
उनले भने,‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु रु एमालेका साथीहरू संसद्को बैठकमा चाहीँ जानुहुन्छ, अनि अवरोध गर्नुहुन्छ। फेरि भक्ता चाहीँ खाइरहनुभएको छ । संसदीय समितिमा माधव नेपालहरू बस्दा सँगै बस्ने अनि संसद्मा चाहीँ विरोध गर्ने काम गलत हो । उहाँहरूले सभामुखमाथि विषवमन गर्नुभयो ।’
उनले हिजोका दिनमा आफूहरूले प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । उनले भने, ‘संसद्मा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौं । तर, अहिले एमालेले संसद् अवरोध गरिरहेको छ । हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौं । प्रधानमन्त्री आफंै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ । मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ । केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । तर, अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन । प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने रु सबै दल मिलौं । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं । यो सरकार संसद्को पूरै अवधि चल्छ ।’
उनले नेपालको भूमीमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भत्र्सना गरे । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ । हामी कुटनीतकि रूपमा सम्वाद गरेर हाम्रो भूमी फिर्ता ल्याउँछौं । यसको लागि अहिले पहल भैरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भैरहेको भन्नुभएको छ । राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैन् ।’
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार ससफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ । यो गठबन्धन बाध्यतावश बनेको हो । संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्थापनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनको लागि यो गठबन्धन बनेको हो । यो कुरा सबै जनतालाई थाहा छ ।’
उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे । उनले भने,‘यो सरकार आएपछि संविधान बचेको छ । दुई तिहाई प्राप्त नेकपाको सरकार बहिर्गमन भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो । प्रदेश सरकार छिन्नभिन्न र लथालिङ भयो । कसको कारण यो हुन गयो रु यो कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ । मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे ।’
उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे । पाण्डेले भने, ‘बिना ईस्युमा सदन अवरोध छ । बालहठका लागि एमालेले अवरोध ग¥यो । संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ । संसद् अवरोध गरेर कसैले जितेको छैन् । संसद् खुल्नुपर्छ ।’
माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ । उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend