काठमाडौं, ३० पौष । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखेका छन । उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको बताए ।
सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, ‘उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरीता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टास्नुभो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।’ ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने बताए ।
उनले भने, ‘कि त उहाँले आफ्नो गल्ती सच्याउनुपर्छ, कि त उहाँले बाटो छाड्नुपर्छ ।’ प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने बताए ।
ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए ।
सर्वोच्च अदालतको परमादेशले सरकार बनेको भन्दै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको जिकिर गरे । उनले भने, ‘असार २८ गतेको अदालतको परमादेशले बनेको सरकारको मुल्य अहिले सिंगो मुलुकले चुकाउन परेको अहिलेको अवस्था रहेको छ । सरकार कतिसम्म निकम्मा देखियो भने १ करोड भन्दा बढी खोप स्टोरमा छ, सरकार खोप लगाउन सक्दैन् ।’
लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन हुनुभन्दा अगाडी ‘कम्र्फटेबल सरकार’ बनाउने बताएको स्मरण गराउँदै ज्ञवालीले भने,‘नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।’ जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैह्रजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । सरकारले देशको सिमाको बारेमा बोल्न नसकेको भन्दै आपत्ती जनाए । सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए ।
पुरानो र जिम्मेवार पार्टी नै नेतृत्वमा हुँदा देशकै अर्थतन्त्रका सारा सुचकहरु अस्तब्यस्त हुने र नेपालमा पहिलोचोटी बजेट होलिडे भएको उल्लेख गरे । १० दिनसम्म बजेट नै नभईकन देश चल्न पर्ने अवस्था सृजना भएको उनको भनाई थियो । उनले भने, ‘यो लज्जास्पद कुरा हो ।’
देशकै अर्थतन्त्रका सारा सुचकहरु अस्तब्यस्त भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब निन्द्राबाट व्युझन पनि आग्रह गरे । ‘प्रधानमन्त्री ज्यु अब निन्द्राबाट ब्युझनुहोस् ।’ देशको बाहिरी सम्बन्ध बिग्रिरहेको बताए । मुलुक गलत बाटोमा गइरहेको भन्दै प्रधानमन्त्री देउवालाई मुलुकको राष्ट्रियताको सवालमा मौनता तोड्न आग्रह गरे ।
प्रमुख प्रतिपक्षी दलको कुुरा सुन्न पर्ने सरकारले ६ महिना पछि मात्र प्रधानमन्त्री देउवाले एमालेलाई सम्झेर ओलीलाई भेटेको बताए । समयमै स्थानिय तहको चुनाव हुनुपर्नेमा जोड दिए । असोजमा एमालेले विधान महाधिवेशन गरेर आगामी ५ वर्षको लागि नेतृत्व चयन गरेको बताए । ६० भन्दा धेरै जिल्ला अधिवेशनको मत परिणाम आइसकेको उनले उल्लेख गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend