शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जसपा यादव पक्ष आज निर्वाचन आयोग जाँदै

जसपा यादव पक्ष आज निर्वाचन आयोग जाँदै

 

 

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष आधिकारिता दाबी गर्न आज निर्वाचन आयोग जाने भएको छ। हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार, पुनः निर्वाचन आयोगमा निवेदन दिन जान लागेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।

अदालती प्रक्रिया धेरै लामो हुने भएको भन्दै जसपासम्बद्ध कानून व्यावसायीहरूले मंगलबार एक पटक आयोगमै पुनः निवेदन दिन सल्लाह दिएका थिए। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कानून व्यवसायीको परामर्श अनुसारै निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर विगत केही महीनादेखि जसपामा चर्को अन्तरविरोध छ। यादव पक्षले जसपा अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ल र सरकारमा सहभागी ११ जनालाई नै पार्टीबाट निष्कासन गरिसकेको छ।

ठाकुर पक्षले पनि जसपा अध्यक्ष यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको छ। निर्वाचन आयोगले भने दुवै पक्षको कारबाहीलाई मान्यता दिएको छैन।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्ष स्पष्ट बहुमतमा छन्। ठाकुर पक्षमा जम्मा २० सदस्य छन्। निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता नदिएपछि यादव पक्ष पुनः निर्वाचन आयोग जान लागेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend