एजेन्सी
काठमाडौं । इरानमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। राष्ट्रपति हसन रुहानीको कार्यकाल सकिएपछि आज निर्वाचन हुन लागेको हो। चार जना उम्मेदवार चुनावी मैदानमा छन्। एक्जिट पोलहरुमा गरिएको प्रक्षेपणअनुसार रुढीवादी शिया धर्मगुरु एवम् त्यहाँको सर्वोच्च अदालतका प्रमुख इब्राहिम राईसी जितको नजिक छन्। राईसीको मुख्य प्रतिद्वन्द्वीको रुपमा इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेर हेमाती हुन्।
यसपटकको निर्वाचन त्यहाँका कयौं असन्तुष्ट तथा केही सुधारवादी नेताहरुले बहिष्कार गरेका छन्। सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौता अन्त्य गर्दै विभिन्न क्षेत्रमा नाकाबन्दी गरेपछि इरानमा आर्थिक मन्दीका साथै सरकारप्रति नागरिकको आक्रोश बढेको छ।
यो बीचमा राष्ट्रपति हसन रुहानीले आफ्नो नरम छवि प्रस्तुत गर्दै अमेरिका लगायतका देशहरुसँगको सम्बन्ध सुधारको प्रयास गरे पनि असफल भएका छन्। यद्यपी उनीप्रतिको आम विश्वास धेरै नै रहेकाले दुई कार्यकाल राष्ट्रपति रहेका थिए। इरानमा एक व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति हुन पाउने व्यवस्था छ।
आज हुने मतदानमा कुनै पनि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएमा पुनः मतदान हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend