मेलम्ची । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनाको उद्धार गरिएको छ ।
नेपाली सेनालगायतको टोलीले उनीहरुको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिनो हाइड्रो परियोजनामा एकै स्थानमा कार्यरत ३७ जना नेपाली, चिनियाँ र भारतीय नागरिकको उद्धार गरिएको छ । हाल उनीहरुलाई धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
बाढीमा परी सयौँ संख्यामा मानिसहरु हराईरहेको भन्नेमा हालसम्म ७ जनामात्र हराएको यकिन सूचना आएको पनि जिप्रका सिन्धुपाल्चोकले जनाएको छ ।
जिप्रका सिन्धुपाल्चोकका अनुसार बेपत्ता हुनेहरुमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ घर भएका १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढीका सुरेन्द्र नेपाल रहेका छन् ।
बाढीपीडितहरुका लागि राहतस्वरूप खाद्यान्नसहित बसोबासको व्यवस्था पनि स्थानीय तह, रेडक्रसलगायतले गरिरहेको छ ।
बाढीका कारण एक जनाले ज्यान गुमाएको पनि जिप्रका सिन्धुपाल्चोकले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend