बुटवल । रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल गरी उद्योग व्यवसायीहरूको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारबाही हुने उल्लेख गरिएको छ ।
जारी निषेधाज्ञा खुकुलो भएसँगै अब स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न पाइने छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।
फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यवसायीलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरूलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्नेसमेत निर्णय गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend