काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै जेठसम्म जारी गरेको निषेधाज्ञाको अवधि पुनः एक हप्ताका लागि असार ७ गते मध्यरातसम्मका लागि लम्बाइएको हो ।
कोरोना भाइरसको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।
यसअघि थपिएको निषेधाज्ञामा तरकारी पसल तथा खाद्यान्नका पसलहरु बिहान ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरिएको थियो ।
यस्तै, शैक्षिक शत्र सुरु हुने बेला भएकाले पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।
सार्वजनिक यातायात सम्बन्धी पहिलेकै नियम यथावत राखिएको छ । कोरोना जोखिम बढेपछि गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend