कास्की । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजीप्रसाद बरालले आम जनताको टाउकोमा ऋणको भार बढाएर सरकारले अपाङ्ग र ज्येष्ठ नागरिकको भत्ता बृद्धि गर्नु उचित नभएको बताएका छन् । गण्डकी प्रदेशसभाको प्रि बजेट छलफल कार्यक्रममा मंगलबार सदनमा बोल्दै सांसद बरालले आफ्ना छोरा छोरी र नाति नातिनीको टाउकोमा राज्यको ऋण भार बढाएर उनीहरुले भत्ता बृद्धि गर्न माग नगरेको बताएका हुन् ।
सांसद बरालले तीन बर्षको अवधिमा ८ खर्बको ऋणभार बढाएर ओली सरकारले नेपालीको टाउकोमा ५० हजारको ऋणभार बोकाएको बताउँदै युवायुवतीलाई आत्म निर्भर हुने सिप सिकाउनुको सट्टा सस्तो लोक प्रियताको लागि भत्ता बृद्धि गरेको उनको भनाई थियो ।
उनले देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन लाग्नुपर्नेमा सरकारले त्यो नगरी अनावश्यक रुपमा अनुत्पादक क्षेत्रमा बजेट बिनियोजन गरेको आरोप लगाए । ‘प्रदेश सरकारले यसको गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने । ‘केन्द्र सरकार लाचार छ, केन्द्रको छायामा प्रदेश सरकार परेको छ ।’
सांसद बरालले राज्यका शासकहरु देश प्रति जवाफदेही नहुदा मुलुकमा जन अपेक्षाकृत विकास निर्माण हुन नसकेको दाबी गरे । उनले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पहिले संसदमा विश्वासको मत नलिई बजेटका वारेमा छलफल गराएर असंवैधानिक काम गरेको आरोप लगाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend