काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५, २६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए ।
सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’
विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend