काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । रिक्त आठवटा मन्त्रालयमा पद पूर्ति गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल र राप्रपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
तर, परराष्ट्र मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष कमल थापालाई दिने प्रधानमन्त्री ओलीको तयारीप्रति जसपाको महन्थ ठाकुर समूह झस्किएको छ । ओली सरकारलाई जसपाको महन्थ–राजेन्द्र महतो समूहले समर्थन गरेको छ भने उपेन्द्र यादव र डा बाबुराम भट्टराई समूह विपक्षमा देखिएको छ ।
ओली सरकारलाई समर्थन गर्ने र नगर्ने दुुई धारमा विभाजित जसपा फुटतर्फ उन्मुख भएको छ । अध्यक्षद्वय महन्थ र उपेन्द्र एकअर्कासँग स्पष्टीकरण सोधिरहेका छन् ।
गत हप्ता नै सरकारमा सहभागी हुने तयारीमा रहेको जसपाको महन्थ ठाकुुर समूह अहिले कमल थापालाई सरकार लैजाने र परराष्ट्र मन्त्री बनाउन लागेपछि झस्किएको छ । उसले सरकारमा जान ढिलाइगरिरहेको छ ।
आफ्नो कदमलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोगी भूमिका निर्वाह गरेकालाई सरकारमा समेटेर सरकारको आयू लम्ब्याउने तयारीमा प्रधानमन्त्री ओली छन् । प्रधानमन्त्री आफ्नै नेतृत्वको सरकारले चुनाव गराउनुपर्ने पक्षमा रहँदै सोहीअनुुसार राजनीतिक गतिविधि गरिरहेका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना र राष्ट्रपतिसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको नयाँ सरकारको दाबीलाई सदर गर्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तर, प्रधानमन्त्री ओली आफ्नो मन्त्रिमण्डल विस्तारको तयारीमा छन् ।
ओली सरकारको सारथी बनेर साथ दिएको जसपालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री छन् ।
साथै राप्रपा अध्यक्ष थापालाई पनि सरकारमा सहभागी गराएर सरकार झनै बलियो बनाउने रणनीतिमा प्रधानमन्त्री लागेका छन् । तर, सरकारमा थापाको ईन्ट्री हुने भएपछि जसपाको महन्थ समूह झस्किएको छ । र प्रधानमन्त्री ओली उनीहरुलाई मनाउने प्रयासमा छन् । (क्यानाडा नेपालबाट)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend