काठमाडौं । विपक्षी गठबन्धनका पाँच दलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन । विपक्षी गठबन्धनका पाँच दलले भनेका छन्, “प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरूको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत दाबी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दिर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं,” पाँच नेताले भनेका छन्, “सरकारका संविधान विपरितका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्इका सबै अंग र निकायहरूलाई पनि आग्रह गर्दछौं।”
आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्चबाट न्याय प्राप्त हुने जनाएका हुन्। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको उनीहरुले जनाएका छन्। उनीहरूले वक्तव्यमा भनेका छन्, “संवैधानिक सर्वोच्चता, कानूनी शानस प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौं।”
कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जसाप उपाध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरेका हुन्। उनीहरूले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरूको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ भइरहेको छ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याएकोमा पनि उनीहरूले विरोध जनाएका छन्। उनीहरूले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरी नेपालको संविधानका बिभिन्न धाराहरूको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरियो। प्रधानमन्त्रीद्वारा भइरहेको संविधानको उल्लंघन संघीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्य पनुः प्रकट भएको छ।”
उनीहरूले भ्रष्टाचार र कमिशनखोरी बढेको जनाएका छन्। “सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दो छ। राज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदै छ,” पाँच दलले भनेका छन्।
उनीहरूले सरकारविरुद्ध सशक्त आवाज उठाउन सबैलाई आह्वान पनि गरेका छन्। पाँचै नेताले भनेका छन्, “लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्धरुपमा सशक्त किसिमतले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरू तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend