काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट ल्याएको बताएका छन्।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुम मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट ल्याएको बताएका हुन। प्रधानमन्त्री र राष्ट्रपतिको यो गलत कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए। आफुले प्रधानमन्त्रीको लागि बहुमत भन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भएपनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयास समेत नगरीकन संसद विघटन गरेको उनले उल्लेख गरे। राष्ट्रपतिले प्रधानमन्त्रीले भन्न बित्तिकै मान्नु नहुने भन्दै उनले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लंघन गरेको बताए। प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे।
उनले भने –‘बहुमत भन्दा बढी सदस्यहरुको सहि छाप सहित हामीले बुझाएका थियौँ। अरु देशमा मान्छे बोलाएर यो हो कि होइन भनेर सोध्छन् त्यो नगरिकन उहाँले मध्यरातमा विघटन गर्नुभयो। गर्नु नहुने कुरा गर्नुभयो। राष्ट्रपति जस्तो व्यक्तिले सम्मानजनक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्नुपर्ने थिएन यो। किनभने यो संविधानको ठाडो उल्लंघन त प्रधानमन्त्रीले गर्नुभयो। राष्ट्रपतिले पनि गरेको देखिन्छ यहाँ। त्यसैले सर्वोच्च अदालत गएका छौँ। मलाई विश्वास छ अदालतले न्याय गर्नेछ। प्रजातन्त्रमा पनि खतरा आइपुगेको छ। अप्रजातान्त्रिक, असंवैधानिक हस्तक्षप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले नेपालमा राजनीतिक संकट पैदा गरेको छ।’
कोभिड १९ को संक्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जानु नहुने बताए। जनतामा गएर झन कोभिड फैलाउने अपराध गर्नु नहुने उनले स्पष्ट पारे। मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उनले आग्रह गरे। संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend