काठमाडौं । राप्रपा नेपालले संवैधानिक राजसंस्था र अखण्ड हिन्दुराष्ट्र स्थापनाको लागि क्रियाशील रहन नागरिकलाई आव्हान गरेको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणा, केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र प्रवक्ता शैलेन्द्रकुमार कठायतद्धारा प्रकाशित संयुक्त विज्ञप्तीमा राजनीतिक दलहरु सत्ता केन्द्रित आन्दोलनमा मात्र लागेकाले जनता र देशले सधैं दुःख पाएकोमा चिन्ता गरिएको छ । कोरोना महामारीमा पनि दलहरुले कुर्सीको राजनीति गरिहेको भन्दै राप्रपा नेपालले उनीहरुको गतिविधिले देश आक्रान्त भएको निश्कर्ष निकालेको छ । अल्पमतको सरकारले पनि र बहुमतको सकारले पनि प्रतिनिधिसभा भंग गरे असंवैधानिक हुने व्यवस्थाप्रति पनि पार्टीले आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीका लागि केपी शर्मा ओलीले दाबी पेश गरेको १ सय ५३ जना सांसद र शेरबहादुर देउवाले दाबी गरेको १ सय ४९ जना सांसद जोड्दा ३ सय २ जना पुगेको र संसद संख्या २ सय ७५ मात्र भएको विषय जोड्दै पार्टीले यो कस्तो वितण्डाकारी सिस्टम हो भनेर प्रश्न गरेको छ । नेपालको राष्ट्रियता र अखण्डतामाथि हन्य कुनै विदेशी शक्तिले निरन्तर प्रहार गरिरहेको भन्दै पार्टीले त्यसतर्फ सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।
राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै आएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले जेष्ठ ७ गतेबाट खाना खुवाउने अभियान सुरु गरिएको बताए । ‘कोरोना संक्रमणका कारण नागरिकहरुको दैनिकी कष्ठकर बनेकाले उनीहरुलाई खाना खुवाएका हौं’ उनले भने ‘पार्टी प्यालेसमा खाना पकाउँछौं र बेलुकीपख विभिन्न ठाउँमा पुगेर प्याकेटको खाना दिन्छौं ।’ उनले अहिलेसम्म झण्डै २५ सय जनालाई खाना खुवाइसकिएको दाबी गरेका छन् ।
‘नागरिकलाई समस्या पर्दा राजनीति गर्छु भन्ने दलहरु चुप लागेर बस्नु हुँदैन त्यसैले राजनीतिक धर्म निर्वाह गरेका हौं’ उनले भने ‘आफूलाई ठूलो हुँ भन्ने दलहरुले अहिलेसम्म जनताको लागि केही पनि गरेका छैनन्, उनीहरुले हामीबाट सिक्नुपर्छ ।’ उनले बानेश्वर, बालाजु, स्वयम्भु, चावहिल, गोंगबु, गुहेश्वरीलगायतका ठाउँमा खाना खुवाइएको जनाए ।
राष्ट्रिय अध्यक्ष राणाका अनुसार गाडी र मोटरसाइकलमा राखेर खाना पुर्याइने गरिएको छ । सरकारले यो बेला नागरिकको रक्षा गर्न रकष्ठपूर्ण जीवन बाँचिरहेकाको पक्षमा केही राहत दिन नसकेको राणाको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend