काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
१६ वैशाखमा शुरू भएको निषेधाज्ञा १३ जेठमा सकिँदै छ। कोभिड १९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको भट्टराईले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १६ हजार ३३८, ललितपुरमा ७ हजार १५२ र भक्तपुरमा ४ हजार ९५३ सक्रिय संक्रमित छन्। देशभरि ७५ वटा जिल्लामा निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
कोरोना संक्रमण दर नघटेकाले निषेधाज्ञा थप कडा पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। उनका अनुसार, अब निर्माण कार्य पूर्ण रूपमा बन्द गरिनेछ।
त्यस्तै, काठमाडौं उपत्यकामा औषधि, दूध, तरकारी र खाद्यान्न पसलबाहेक अन्य पसल खोल्न पाइनेछैन। यसअघि खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। अब सबै बन्द गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend